सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले यूएईविरुद्व पहिले बलिङ गर्ने

आइतबार, १७ असार २०८०, १२ : ३७
आइतबार, १७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अबर इमिरेट्स (यूएई)सँग प्लेअफ चरणको खेल खेल्दैछ । उक्त खेलमा टस जितेको नेपालले पहिलो बलिङ गर्ने भएको छ ।

यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले सातौँ वरीयताका लागि यूएईसँग भिडन्त गर्न लागेको हो । उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछ ।

यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्वको खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् । 

नेपाल र यूएईबीच खेलिएका पछिल्ला पाँचमध्ये चार खेलमा नेपाल विजयी भएको छ । एउटा खेलमा भने यूएई विजयी भएको छ । पछिल्लो पटक गत मेमा घरेलु मैदानमा खेलिएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो ।

त्यसअघि गत मार्च १६ तारिखमा कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग टुको खेलमा नेपालले यूएईलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । 

यसैगरी लिग टु प्रतियोगिताकै मार्च १२ तारिखमा खेलिएको खेलमा घरेलु टोली नेपालले यूएईलाई एक सय ७७ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो । त्यसअघि लिग टु प्रतियोगिताको मार्च ६ तारिखमा दुबईमा खेलिएको खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो । सोही प्रतियोगिताको मार्च २ तारिखमा दुबईमै खेलिएको खेलमा भने यूएईले नेपाललाई ६८ रनले हराएको थियो ।

विश्वकप छनोटमा आइतबार नै श्रीलङ्का र जिम्बाबेबीच सुपर सिक्स चरणको खेल हुँदै छ । जिम्बाबे र श्रीलङ्का दुवै आगामी एकदिवसीय विश्वकपमा छनोट हुने प्रबल सम्भावना छ । यी दुवै टोलीको ६—६ अङ्क रहेको छ । 

जिम्बाबे र श्रीलङ्कालाई चार अङ्कसहित स्कटल्यान्ड र दुई अङ्कसहित नेदरल्यान्ड्सले चुनौती दिइरहेका छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने आगामी एकदिवसीय विश्वकप खेल्न नपाउने पक्का भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप