सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्ट्राइकर रोबर्टो फर्मिनो लिभरपुल छाडेर साउदी क्लबमा

बुधबार, २० असार २०८०, १० : ३८
बुधबार, २० असार २०८०

काठमाडौँ । ब्राजिलियन स्ट्राइकर रोबर्टो फर्मिनोले साउदी अरेबियामा व्यवसायीक फुटबल खेल्ने भएका छन् । ३१ वर्षीय फर्मिनो इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाडेर साउदी क्लब अल—अहलीमा आबद्ध भएका हुन् । 

उनले साउदी क्लबसँग तीन वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ । गत सिजनको समाप्तिसँगै लिभरपुलसँग उनको सम्झौता अवधि सकिएको थियो । फर्मिनो सन् २०१५ मा लिभरपुलमा आबद्ध भएका थिए । 

लिभरपुलका लागि फर्मिनोले तीन सय ६२ खेल खेल्दै एक सय ११ गोल गरेका थिए । यो सिजन साउदी लिगमा आबद्ध हुने प्रभावशाली खेलाडीहरुमध्ये उनी पनि एक हुन् । गत साता सेनेगलका चर्चित गोलरक्षक एडुआर्डो मेन्डी इङ्लिस क्लब चेल्सी छाडेर अल—अहलीमा आबद्ध भएका थिए ।

यसै गरी साउदी क्लबमा आबद्ध हुन एनगोलो कान्टे र कालिडोउ कोलिबलीले पनि इङ्लिस क्लब चेल्सी छाडेका थिए । फ्रान्सेली स्टार करिम बेन्जेमा पनि साउदी क्लब अल इत्तिहादमा आबद्ध भएका छन् । पोर्चुगिज खेलाडी रुबेन नेभस साउदी क्लब अल हिलालसँग जोडिएका छन् भने क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच अल नासरमा आबद्ध भएका छन् । 

लिरभपुलका पूर्वखेलाडी स्टिभन जेरार्ड साउदी क्लब अल—इत्तिफाकको प्रशिक्षक बनेपछि इङ्लिस क्लबका थुप्रै खेलाडीले साउदी व्यवसायी लिगलाई आफ्नो गन्तव्य बनाएको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप