आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शरद गौचन हत्या प्रकरण

गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला

समिरमानकी श्रीमती माया शेरचनलाई पनि १० वर्षको कैद सजाय
बुधबार, २० असार २०८०, १५ : २७
बुधबार, २० असार २०८०

काठमाडौँ । गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्न्यातलाई जन्मकैदको फैसला सुनाएको हो। 

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्न्यातसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ । हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ । त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ ।

keshav-prasad-ghimire-judge

न्यायाधीश केशवप्रसाद घिमिरे

यसअघि असार १२ गते न्यायाधीश घिमिरेको इजलासलाई २४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर निर्धारणका लागि बुधबारको पेसी तोकेका थिए । असार १० गते पेसीमा चढेपछि उक्त मुद्दालाई न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखी लगातार तीन दिन सुनुवाइ गरेका थिए । असार १२ गतेको सुनुवाइपछि न्यायाधीश घिमिरेले ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर ठहर गरेका थिए ।

२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा पर्ने प्रयागचोकमा दिउँसो २ः५० बजे गोली प्रहार गरी हत्या गरिएको थियो । सो घटनामा संलग्न भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पछि बुझ्दै जाँदा घटनामा समिरमानसिंह बस्न्यातको श्रीमती माया शेरचनको समेत संलग्नता खुलेको भन्दै पूरक अभियोगमार्फत माया शेरचनविरुद्धसमेत मुद्दा दायर गरिएको थियो । 

२४ जनाविरुद्ध दायर मुद्दामा अदालतले प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो कमकर, सूर्यबहादुर बाजी, राजकुमार साह र श्याम गुप्तालाई आरोपित कसुरबाट सफाइ दिने फैसला सुनाएको थियो । २४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई केही फरार प्रतिवादीलाई मुल्तबीमा राखी अन्यको हकमा दोषी ठहर गरिएको थियो । उक्त घटनामा प्रमुख योजनाकार समिरमान सिंह बस्न्यात रहेको दाबी गरिएको थियो । 

२०७४ पुष २८ गते दर्ता भएको उक्त मुद्दामा समिरमान सिंह बस्न्यातको श्रीमती माया शेरचनलाई भने २०७५ मंसिर १९ गते मात्रै पूरक अभियोग ल्याएर प्रतिवादी बनाइएको थियो । बुझिएका मानिसहरुको बयानका आधारमा माया शेरचनले गौचनको हत्या गर्नका लागि प्रयोग भएको पेस्तोल र त्यसमा लाग्ने गोली दिइएको दावी गरिएको छ । 

सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दा प्रतिवादीहरु राजीव तामाङ भन्ने राजीव स्याङ्गतान, प्रकाश बुढाथोकी, धनराज योङ्गहाङ्ग, बसन्त थेवे, सन्तोष गुरुङ्ग, मुकेश कुमार पाण्डे, शिबजी महतो कमकर, समिर मान सिंह बस्न्यात, सुर्य बहादुर वाजी, सुजा थक्सु वाजी, गंगा प्रकाश लिम्बु, काले भन्ने अम्बर बहादुर राना, श्याम गुम्बे भन्ने श्याम बहादुर गुम्बी, लोप्साङ्ग शेर्पा भन्ने लोप्साङ्ग लामा, अजय थापा, काले दारी भन्ने रोशन बुढाथोकी, मनोज पुन भन्ने मनोज बुढामगर, प्रदिप कुमार झा, समिकला राई, प्रबेश नायब, सुधिर कुमार साहलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार सर्वस्वसहित जन्मकैदको मागदावी लिइएको थियो । त्यसैगरी उनीहरुले समूहमा योजना बनाई अपराध गरेको कारण उनीहरुलाई संगठित अपराधमा थप सजाय हुन मागदावी लिइएको थियो । तत्कालीन समयमा फरार रहेका समिरमान सिंह बस्न्यात लगायतको हकमा समेत सर्वस्वसहित जन्मकैदको मागदावी लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप