आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्तव्यनिष्ठ भएर राजस्व सङ्कलनमा लाग्न अर्थमन्त्रीको निर्देशन

बुधबार, २० असार २०८०, १६ : ४१
बुधबार, २० असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सम्बन्धित भन्सार कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधवार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री डा.महतले यस्तो निर्देशन दिएका हुन् । 

कर सङ्कलनमा प्रेरित गर्दै अर्थमन्त्री डा.महतले भने– ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्ने छ’ सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेरी राजस्व सङ्कलनमा केन्द्रित हुन समेत अर्थमन्त्री डा.महतले कर्मचारीहरूलाई आग्रह गरे । 

‘व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।’ अर्थ मन्त्रालयको सबैभन्दा ठुलो काम भनेको श्रोत जुटाउने रहेको तर्क गर्दै अर्थमन्त्री डा.महतले अहिले उठिरहेको राजस्वको हिस्साले खर्च धान्न नपुगेको उनले बताए ।  ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ’ महतले भने, 

‘राजस्वको दायरा बढाउँछौँ भनेर मात्र बढ्दैन, अर्थतन्त्रले गति लिनुपर्छ । त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ । बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ । भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भीर ध्यान दिनुपरेको छ’ उनले भने । सोही अवसरमा अर्थमन्त्री डा.महतले सधैँ भन्सारमा आधारित राजस्वमा निर्भर हुन नसकिने भन्दै उत्पादनमा जोड दिन आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्ने बताए । यस्तो कार्य सरकारले सुरु गरिसकेको जिकिर गर्दै अर्थमन्त्री महतले यसको रिजल्ट चाँडै आउने समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप