आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशको बजेट बहुमतले पारित

बिहीबार, २१ असार २०८०, १९ : ३२
बिहीबार, २१ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यहरुको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको छ ।

बजेटमा नेकपा एमाले, राप्रपा र नेकपाका ४३ सांसदहरु विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसदहरु बजेटको पक्षमा रहेका थिए ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ७ अर्ब रुपैयाँ घटाएर बजेट सार्वजनिक गरेको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख रुपैयाँ अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख रुपैयाँ, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ व्यहोरिने अनुमान गरिएको छ ।

प्रदेश सरकारले अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी करका दरहरु यथावत् भएको छ भने प्रदेशलाई लगानीमैत्री प्रदेशको रुपमा स्थापना गर्न काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका क्षेत्र बाहेक प्रदेशका अन्य स्थानमा उत्पादनमूलक उद्योग स्थापनाका लागि जग्गा खरिद गर्दा घरजग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

बैठकमा ९ जना सांसदहरुले खर्च कटौती प्रस्ताव राखेका थिए । जसमा कृष्णप्रसाद सिलवाल, रामेश्वर श्रेष्ठ, मधुसुदन पौडेल, केशव प्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, सृजना सायजू, भारती पाठकले खर्च कटौती प्रस्ताव राखेका थिए ।

उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेट माथि सांसदहरुले उठाएका प्रश्नहरुको मुख्यमन्त्रीसहित  मन्त्रीहरुले जवाफ दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी प्रवर्द्धन, उत्पादनशील कार्यक्रमका लागि लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लगायतका योजनामा बजेट विनियोजन गरिएको बताए ।

सरकारले प्रदेशका सबै जिल्लाहरुलाई समानुपातिक विकासको अवधारणा स्वरुप बजेट ल्याएको उनले बताए । बहुवर्षे आयोजनासहित पूर्वाधार निर्माण, आगामी मंसिरसम्ममा हेटौंडा कुलेखानी हुमाने सडक पुरा गर्ने, मातातिर्थ फाखेल कुलेखानी सडकलाई स्तरीय बनाउने लगायतका योजनाहरुमा बजेट विनियोजन गरिएको बताए । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, उत्पादन र उत्पादकत्व वृद्धि, कृषि उपजको बजारीकरण गर्ने जस्ता कार्यक्रममा बजेट विनियोजन गरिएको उनको भनाई छ ।

सुरुङ मार्गको विषय राजनीतिक नाराको रुपमा उठान भएको उनले बताए । सुरुङ मार्ग निर्माण योजनालाई सार्थक बनाउने वा नबनाउने भन्ने विषय आगामी भदौ महिनासम्ममा निक्यौल हुने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

सरकारको बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप