सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेसी र बुस्केट्सलाई पछ्याउँदै जोर्डी अल्बा पनि इन्टर मियामीमा

शुक्रबार, २२ असार २०८०, १६ : ०४
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीका मालिकमध्येका एक योर्गे मासले केही साताअघि सामाजिक सञ्जाल ट्वीटरमा एउटा म्यासेज पोष्ट गरेका थिए । उक्त पोष्टमा उनले क्लबको गुलाबी रंगको तीनवटा जर्सी राखेर लेखेका थिए, ‘छिट्टै आउँदैछन् ।’

बार्सिलोनाका दुई स्टार खेलाडी लियोनल मेसी र सर्जियो बुस्केट्स यसअघि नै इन्टर मियामीमा आबद्ध हुने पक्का भइसकेको थियो । यी दुवै खेलाडीलाई जुलाई १६ तारिखमा औपचारिक रुपमा स्वागत गरिने र जुलाई २१ तारिखमा पहिलो खेल खेलाइने तयारी पनि हुँदैछ । 

मासको उक्त पोष्टपछि धेरैको मनमा कौतुहल जाग्यो, तेस्रो जर्सी कसका लागि होला ? अनि, मास कसलाई स्वागत गर्न आतुर देखिएका हुन् ? त्यसको जवाफ अहिले आएको छ । इन्टर मियामीले तेस्रो महत्त्वपूर्ण खेलाडीका रुपमा बार्सिलोनाकै खेलाडी जोर्डी अल्बालाई भित्राउने भएको छ । 

स्पेनिस राष्ट्रिय टोलीका ३४ वर्षीय कप्तान अल्बा बार्सिलोना छाडेर मेजर लिग सकर (एमएलएस) खेल्न इन्टर मियामीमा आबद्ध हुने भएका छन् । इन्टर मियामी स्रोतका अनुसार, अल्बासँग विभिन्न चरणमा वार्तासमेत भइसकेको छ र उनी छिट्टै नै अमेरिकी क्लबमा आबद्ध हुने भएका छन् । 

इन्टर मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोले पनि यस कुराको संकेत गरेका छन् । इन्टर मियामीले केही समयअघि मात्र मार्टिनोलाई प्रशिक्षकको जिम्मेबारी सुम्पिएको हो । अल्बा भने सन् २०१२ मा स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा आबद्ध भएका थिए । 

मेसी, बुस्केट्स र अल्बाले बार्सिलोनाका लागि एकसाथ थुप्रै खेल खेलेका थिए र क्लबलाई महत्त्वपूर्ण उपाधिहरु पनि चुमाएका थिए । अल्बाले बार्सिलोनामा ११ वर्ष बिताएका छन् । सो अवधिमा उनले क्लबका लागि चार सय ५९ खेल खेलिसकेका छन् । उनले बार्सिलोनालाई ६ वटा ला लिगा उपाधि, पाँचवटा कोपा डेल रे उपाधि र च्याम्पियन्स लिग जिताउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

अल्बाले स्पेनिस राष्ट्रिय टोलीबाट पनि ९३ खेल खेलिसकेका छन् । बार्सिलोनाले अल्बालाई सम्मानपूर्ण बिदाइ पनि गरिसकेको छ । उनले पनि सामाजिक सञ्जालमार्फत बार्सिलोनाप्रति आभार व्यक्त गरेका छन् । ‘म क्लबका अध्यक्ष, अन्य पदाधिकारी, खेलाडी साथीहरु, प्रशिक्षक, समर्थकलगायत सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् । 

सन् १९९८ देखि सन् २००५ सम्म उनले बार्सिलोनाको युवा टोलीबाट पनि खेलेका थिए । बार्सिलोना छाडेपछि अल्बालाई साउदी अरेबियाको ब्यवसायीक लिगबाट पनि प्रस्ताव आएको थियो । तर, उनले आफ्ना पूर्वसहकर्मी मेसी र बुस्केट्ससँगै खेल्ने निर्णय लिए । 

अब मेसी, बुस्केट्स र अल्बामाथि इन्टर मियामीको स्तरलाई माथि उठाउनु पर्ने कठिन चुनौति छ । एमएलएस तालिकामा इन्टर मियामीको वर्तमान अवस्था अत्यन्तै दयनीय छ । अहिले इन्टर मियामी अमेरिकी लिगको इष्टर्न कन्फरेन्स अंक तालिकामा सबैभन्दा तल रहेको छ ।

इन्टर मियामीमा आबद्ध बार्सिलोनाका पूर्वखेलाडीहरुले प्रशिक्षकका रुपमा पनि चिरपरिचित अनुहार पाएका छन् । प्रशिक्षक मार्टिनो बार्सिलोनाकै पूर्वप्रशिक्षक पनि हुन् । इन्टर मियामीमा आबद्ध हुनुअघि मार्टिनो मेक्सिकोको राष्ट्रिय टोलीका प्रशिक्षक थिए । 

प्रशिक्षकका रुपमा मार्टिनोलाई पाउनु सात पटकको बालन डीओर विजेता मेसी, बुस्केट्स र अल्बाका लागि पनि खुसीको विषय हो । ६० वर्षीय मार्टिनो बार्सिलोनासँगै अर्जेन्टिनी राष्ट्रिय टोलीका पनि पूर्वप्रशिक्षक हुन् । 

मार्टिनोले सन् २०१३ देखि एक सिजन बार्सिलोनाको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनको प्रशिक्षकत्वमा बार्सिलोनाले ४० खेलमा जित, ११ खेलमा बराबरी र आठ खेलमा हारको नतिजा निकालेको थियो ।

मार्टिनोको प्रशिक्षकत्वमा बार्सिलोनाले स्पेनिस सुपर कलको उपाधि चुमेको थियो । बार्सिलोना छाडेपछि मार्टिनो अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । उनी सन् २०१४ देखि सन् २०१६ सम्म अर्जेन्टिनाको प्रशिक्षकको भूमिकामा थिए । 

मार्टिनोको प्रशिक्षकत्वमा मेसीसहितको अर्जेन्टिनी टोली दुई पटक कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको थियो । तर, दुवै पटक अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसपछि मार्टिनाले आफ्नो पदबाट राजीनामा दिएका थिए । 

मार्टिनो आफै पनि अर्जेन्टिनाका पूर्वखेलाडी हुन् । मेसी र प्रशिक्षक मार्टिनो न्युवेल्स ओल्ड ब्वाइजका पूर्वखेलाडी पनि हुन् । खेलाडीको भूमिकाबाट विदा लिएपछि मार्टिनोले न्युवेल्स ओल्ड ब्वाइजमा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका थिए ।

प्रशिक्षक मार्टिनो पहिलो पटक अमेरिकी ब्यवसायीक लिगमा आबद्ध भएका भने होइनन् । यसअघि सन् २०१७ मा उनले एमएलएस क्लब एटलान्टा युनाइटेडमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २०१८ मा उनी एटलान्टा युनाइटेड छाडेर मेक्सिकोको प्रशिक्षक बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप