आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् : अर्थमन्त्री महत

शनिबार, २३ असार २०८०, १६ : ११
शनिबार, २३ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे ।

अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याँजदर घटने कुराले ठूलो राहत हुने बताए ।  ‘यो अहिलेको जुन ब्याजदर छ । त्यो ज्यादा छ ।  त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु’ अर्थमन्त्रीले भने, ‘सायद केही न केही सम्बोधन होला । यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ । केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।’

अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे । उनले कृषिवस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंसा गरे । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोरयाए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए । 

अर्थमन्त्री महतले भने, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएका छौं ।  हरेक चिज हामी आयातित वस्तुमा मात्रै निर्भर हुने जुन परिस्थिति छ, त्यसलाई अन्त्य गरेर देश भित्रका कृषकहरु, कृषि व्यवसायमा लागेकाहरुलाई प्रोत्साहन गर्ने हामीले नीति लिएका छौं । एक तहको संरक्षण दिने नीति लिएका छौं ।’ 
नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताउँदै उनले विदेशबाट नयाँ सीप सिकेर आउनेलाई पनि प्रोत्साहन गरिने बताए । ‘नेपालमै जुन उत्पादन हुन्छ, त्यो उत्पादनलाई हामीले प्राथमिकता दियौ भने मलाई लाग्छ, यो क्षेत्रमा कृषकहरु, जो नयाँ उद्यम सिकेर विदेशबाट पनि फर्किएर आइराखेका छन्, उनीहरुलाई पनि प्रोत्साहन हुन्छ’ उनले भने, ‘यसबाट हाम्रो यो कृषिजन्य उत्पादनमा पनि आत्मनिर्भर हुने हाम्रो जुन मनसाय छ । त्यो मनसाय पूरा गर्न सक्दछौं भन्ने मलाई लागेको छ ।’

अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप