आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : विपद् पूर्व तयारी कार्ययोजना तयार

आइतबार, २४ असार २०८०, १९ : १९
आइतबार, २४ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी कार्ययोजना निर्माण गरेको छ । प्रदेश सरकारले मनसुन सुरु भएलगत्तै विपद् पूर्व तयारी कार्ययोजना निर्माण गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारितसमेत गरेको छ ।

कार्यकारी समितिको बैठकले आवश्यक छलफल तथा अध्ययन अनुसन्धान गरी प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यून गर्न अपनाउनु पर्ने सावधानी, पूर्वतयारी र उद्धार सम्बन्धी प्रतिकार्यको योजना निर्माण गरेको मन्त्री श्रेष्ठले बताए । 

बैठकमा विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशनसमेत दिएका थिए ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामग्रीका साथै राहत सामग्रीको प्रबन्ध, भण्डारण र वितरण गर्ने काम गर्नेछ । 

त्यस्तै, प्रदेश विपद् कोष सञ्चालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भएबमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नेछ ।

प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्सँग सम्बन्धित पूर्वतयारीदेखि पुनःर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप