आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

पूर्व गृहसचिव मलेगोको ‘बयान कागज’ : महाशाखा प्रमुख थिएँ, सचिवज्यूको निर्देशन अनुसार टिप्पणी फरवार्ड गरेको हुँ

सोमबार, २५ असार २०८०, २२ : ५५
सोमबार, २५ असार २०८०

काठमाडौँ । पूर्व गृह–सचिव नारायण गोपाल मलेगो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को खोजी सूचीमा छन् । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत जुन मुद्दामा पक्राउ परेका हुन्, मलेगोमाथि पनि त्यही कसुर गरेको आरोप छ । त्यो आरोप हो–‘भीआईपीको निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना गर्ने निर्णयमा संलग्नता ।’

२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा सञ्चार मन्त्रालयका सचिव राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । राउले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात कहाँ पेस गरेका हुन् । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री विजय गच्छदारकहाँ पेस गरे । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना भएको बारे छानबिन गर्दा नै पूर्व गृह–सचिव मलेगोसँग त्यसबारे ‘बयान’ लिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार तत्कालीन एसपी बेल बहादुर पाण्डे नेतृत्वको समितिमा २०७६ मा मलेगोले ‘बयान कागज’ गरेका थिए ।

६४ वर्षीय मलेगो काठमाडौँको सुकेधारा बस्छन् । सीआईबीको खोजी सूचीका मलेगोले आफू भौतिक योजना तथा निर्माण मन्त्रालयमा महाशाखा प्रमुख हुँदा तत्कालीन सचिवको निर्देशन अनुसार ‘ऐन, नियम बमोजिम निर्णय हुन भनी माथिल्लो पदाधिकारी समक्ष फरवार्ड (पेस) गरेको’ बयान दिएका छन् । उनले गरेको बयानमा भनिएको छ–‘२०६६ चैत १९ गतेको तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेका प्रस्तावमा समावेश भएका अनुसूचीहरू सम्बन्धमा संशोधन गर्न तत्कालीन सचिवज्यूको निर्देशानुसार प्रशासन महाशाखा प्रमुखको हैसियतले २०६७ असार ८ गते ऐन, नियम बमोजिम निर्णय हुन भनी माथिल्लो पदाधिकारी समक्ष फरवार्ड (पेस) मात्र गरेको हुँ ।’ उनी २०६६ असोज देखि २०६९ साउन २६ सम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा सह–सचिव थिए ।

भौतिक मन्त्रालयको प्रस्ताव अनुसार प्रधानमनमन्त्री निवासको दक्षिणतर्फ परिसर बिस्तार क्षेत्र बाहिर रहेको जग्गाको मोहीको हकमा आधा जग्गा मोहीले रोजे तर्फ समरजंग कम्पनी वा राजकुलो वा बाटोको नामबाट सम्बन्धित मोहीको नाममा ‘दाखिला खारेज गर्ने’ निर्णय भएको थियो । तर, पूर्व सचिव मलेगोले मन्त्रिपरिषद्ले गरेको सो निर्णय आफूलाई थाहा नभएको बताएका छन् । उनले बयानमा भनेका छन्–‘मन्त्रिपरिषद्बाट निर्णय भएको बारेमा मलाई जानकारी भएन् ।’

निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । सभामुख निवासबाट एनआरएनए भवन तर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप