आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीपीका पाला (२०१६) मा गठन भएको थियो, राष्ट्रिय खेलकुद परिषद्

मङ्गलबार, २६ असार २०८०, १३ : २२
मङ्गलबार, २६ असार २०८०

२०१३ सालमा स्विडेनको स्टकहोममा भएको १६औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपालले खासै चासो दिएन । यति बेलासम्म नेपालमा खेलकुद विकासका लागि छुट्टै निकाय गठन भइसकेको थिएन । यसको तीन वर्षपछि शिक्षामन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा ‘राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्’ गठन भयो । 

परिषद् गठन भए पनि २०१७ सालमा इटालीको रोम सहरमा १७औँ ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदा खर्च अभावमा नेपालले कुनै खेलाडी पठाएन, तर ओलम्पिक सुरु हुनुभन्दा चार दिनअघि वंशीलाल भण्डारी रोम पुगे । उनी पर्यवेक्षकका रूपमा ओलम्पिकमा सहभागी भएका थिए । 

नेपाल अमेच्योर एथ्लेटिक्स संघले रोम ओलम्पिक हेर्न सिफारिस गरिदिएपछि उनी आफ्नै खर्चमा रोम उडेका थिए । यसबीचमा नेपालले पहिलो र तेस्रो गरी दुईवटा एसियाली खेलकुदमा भाग लिइसकेको थियो । फिलिपिन्सको राजधानी मनिलामा २०११ सालमा भएको दोस्रो एसियाली खेलकुदमा खर्च अभावका कारण भाग नलिएको नेपालले जापानमा टोली पठाएको थियो । 

जापानले ओलम्पिक आयोजना गर्नुअघि ११–१९ जेठ २०१५ (२४ मे–१ जुन, १९५८) मा तेस्रो एसियाली खेलकुद सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । 

पहिलो एसियाली खेलकुदबाट घनिष्ट भएको जापानसँगको सम्बन्धका कारण नेपालले तेस्रो संस्करणमा सात सदस्यीय टोली पठायो । अमेरिकी बमबारीका कारण दोस्रो विश्वयुद्धमा तहसनहस भएको जापानले नौ वर्षको अन्तरालमा भव्यताका साथ तेस्रो एसियाली खेलकुद सम्पन्न गरेको थियो । 

360040606_232840709084144_745267467618281237_n

तेस्रो एसियाली खेलकुदको सफलताले विश्वको ध्यान जापानतर्फ आकृष्ट भइरहेका बेला १२ जेठ २०१६ साल (२६ मे १९५९) मा पश्चिमी जर्मनीको म्युनिख सहरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को ५५औँ सभा बस्यो । बैठकले टोकियो सहरलाई नै १८औँ ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न दिने निर्णय ग¥यो ।   

आईओसीको यो निर्णय जापानका लागि मात्र होइन, नेपाललगायत एसियाका अन्य गरिब राष्ट्रका लागि पनि ऐतिहासिक बन्ने पक्का थियो । किनभने ओलम्पिक पहिलोपल्ट एसियामा आयोजना हुँदै थियो । फेरि नेपालजस्ता गरिब राष्ट्रले खेलकुदको कमजोर आर्थिक अवस्थाका कारण युरोपजस्तो महँगो ठाउँमा भाग लिन सकिरहेका थिएनन् । 

जापान आफू पनि पहिलो ओलम्पिक आयोजना गर्न लागेका कारण उत्साही थियो । उसको चाहना थियो, अन्य मुलुकजस्तै नेपालले पनि टोकियोमा भाग लिओस्, तर जापानले ओलम्पिक प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउँदा नेपालले आईओसीको मान्यता पाउनु त टाढाको कुरा नेपालमा ओलम्पिक कमिटी गठन पनि भएको थिएन । 

हालको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नाम त्यसताका ‘राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्’ थियो । पहिले स्वास्थ्यलाई पनि खेलकुदमा गाभिएको थियो । जापानमा सम्पन्न ओलम्पिक प्रतियोगिता खेलेर फर्किएपछि यसको नाम संशोधन गर्दै खेलकुदबाट स्वास्थ्यलाई छुट्ट्याइएको हो । 

359950133_232755396308312_8530488008660737070_n

राखेपको स्थापना ९ फागुन २०१६ सालमा तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको थियो । राखेपका पहिलो सदस्यसचिव होराप्रसाद जोशी थिए । सहसचिवमा सुशील शमशेर राणा र उपाध्यक्षमा जनरल नरशमशेर राणा र साहेबज्यू हरिविक्रम शाहलाई नियुक्त गरिएको थियो । सदस्यहरूमा कमल राणा (प्रथम महिला सदस्य), सरदार हंसमान सिंह, डा. नागेश्वरप्रसाद सिंह, कुमारमणि दीक्षित, धीरविक्रम शाह र कृष्णबहादुर बर्मा थिए । 

नेपाललाई ओलम्पिक खेल्ने निम्तो आउँदा होराप्रसादलाई हटाएर सुशील शमशेरलाई सदस्यसचिव नियुक्त गरिएको थियो । सुशील शमशेर राजा महेन्द्रका प्रिय साला थिए । उनी पहिलेदेखि ब्याडमिन्टन खेलमा सक्रिय थिए । अझ भन्नुपर्दा राष्ट्रिय खेलकुद परिषद्को कार्यालय नहुँदा पहिले खेलकुदको सम्पूर्ण काम यिनकै घर बागदरबारबाट सञ्चालन हुन्थ्यो । 

सुशीललाई राखेपका सदस्यसचिव नियुक्त गर्दा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरिसकेका थिए । राजा महेन्द्र ब्याडमिन्टनका सोखिन खेलाडी थिए । त्यसैले उनले पहिलेदेखि खेलकुदप्रति सकारात्मक दृष्टिकोण राख्थे । यसमा पनि उनले २०१६ सालमा जापानको भ्रमण गरिसकेका थिए । त्यसैले जापानबाट आएको अनौपचारिक प्रस्तावमा ‘नाइँ’ भन्ने अवस्था थिएन । पहिलो छलफलमै स्वीकृत गरे । 

२४ पुस २०१८ मा नेपालको राष्ट्रिय खेल पत्ता लगाउन र नेपाली खेलकुदको विकास गर्न तत्कालीन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालयले खेलकुद परिषद्का उपाध्यक्ष साहेबज्यू हरिविक्रमको अध्यक्षतामा एउटा खेलकुद समिति गठन ग¥यो । 

जसलाई नेपालको राष्ट्रिय खेलहरू पत्ता लगाउन र नेपाली खेलकुदको विकासका लागि कस्तो उपाय अविलम्बन गर्ने भन्ने कार्यभार सुम्पिइएको थियो । विभिन्न जिल्लामा खेलिने खेल पत्ता लागेपछि यस खेलका निपुण खेलाडीलाई टोकियो ओलम्पिकमा सहभागी गराउने विचार सरकारले राखेको थियो ।

(पत्रकार अर्यालको प्रकाशोन्मुख पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्तबाट । पुस्तक आजै (२६ असारमा) विमोचन हुँदै छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप