आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विपद्

नाम ज्योतिनगर : अनुहार फ्यूज गएको बत्ती झैँ

सम्भावित जोखिमयुक्त घरको बीमा गर्ने योजनामा उपमहानगरपालिका
शुक्रबार, २९ असार २०८०, १४ : ४९
शुक्रबार, २९ असार २०८०

बुटवल । ज्योतिनगर र लक्ष्मीनगर नामै सुन्दा यहाँ खुशीको ज्योति झलमल्ल बल्नुपर्ने हो । तर, जब बर्खा लाग्छ, तब बुटवल ज्योतिनगर र लक्ष्मीनगरका स्थानीयका त्रासका दिन सुरु हुन्छन् । 

ज्योति निभेको जस्तो हुन्छ । २०७८ भदौ १४ गते र त्यसभन्दा अघि २०५५ सालमा गएको पहिरोले दिएको दुःखको यादले धेरैलाई सताउँछ । 

बुटवल ज्योतिगरकी ६२ वर्षीय लक्ष्मी श्रेष्ठको परार पहिरोले घरमा क्षति भयो । उनले घरसँगै ज्यान पनि खतरामा पर्ने हुँदा आफूहरू ठुलो पानी पर्दा अन्यत्र निस्कने बताइन् । 

चुरे पहाडको फेदमा बस्ने ज्योतिनगरकै ६४ वर्षीय सरस्वती श्रेष्ठ भन्छिन्, ‘यहाँ सधैँ त्रास छ, आकाश कालो हुन थालेपछि मन आत्तिन्छ ।’

उनको घरमा दुई वर्षअघि चुरेबाट बग्दै आएको ढुङ्गा सहितको लेदो छिरेर क्षति पुर्‍याएको थियो । अहिले मर्मत गरेर घरमा बसे पनि वर्षा सुरु भएसँगै जोखिम बढेको उनी बताउँछिन् । 

चुरेको माथिल्लो भागबाटै जमिन भासिएर पहिरो गएपछि डाँडा नै खुइलिएको देखिन्छ । त्यसैले, ज्योतिनगर र लक्ष्मीनगरका बस्ती झन् पछि झन् असुरक्षित बन्दै गएका छन् ।

बुटवलको माथिल्लो भागमा पर्ने ज्योतिनगर र लक्ष्मीनगर चुरे पहाडको क्षेत्रमा पर्ने भएकोले जतिबेला पनि पहिरो आउने सक्ने विज्ञहरूको भनाई छ ।  

बुटवल बहुमुखी क्यापसका भूगोलशास्त्रका प्राडा भोजराज कडरियाले बुटवलको शिरानका रूपमा रहेको चुरे पहिरोले कुनैबेला पुरै बुटवल बजारमा नै असर पार्ने बताए ।

दुई वर्षअघि चुरेबाट बगेको लेदो सहितको बाढीले बुटवलको ट्राफिक चोक, जेसीस चोकसम्म पुगेको थियो। त्यो बेला दिउँसो पहिरो आएकाले मानवीय क्षति भएन तर १४ वटा घरमा क्षति भयो ।  

भूगर्वशास्त्रीहरुले धेरै पहिलदेखि नै बसोबासका हिसाबले उक्त क्षेत्र उपयुक्त नभएको सिफारिस गरेको बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर विमल बहादुर शाक्यले बताए ।

उनले २०३८ सालमै पनि पहिरोले नराम्रोसँग प्रभावित बनेको सुनाउँदै २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ज्योति नगर, लक्ष्मी नगर क्षेत्रमा ५७ घर क्षतिग्रस्त बनेको बताए । 

tttttttttttt

के के भए नियन्त्रणको प्रयास  ?  

यस क्षेत्रको पहिरो नियन्त्रणको लागि २ वर्षको अवधिमा बुटवल उपमहानगरपालिका,  राष्ट्रपतिका लागि चुरे संरक्षण कार्यालयले पाँच करोड रुपैयाँ खर्च गरेका छन् ।

समृद्धि सरोकार केन्द्रका अध्यक्ष तथा चुरे संरक्षण संरक्षण समन्वय समितिका महासचिव गणेश घिमिरेले नियन्त्रणका लागि केही काम भए पनि ती पूर्ण नभएकाले स्थानीय सधैँ त्रासमा रहेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नंं ३ का अध्यक्ष विष्णु ढकालले अघिल्लो वर्ष चुरेमा छरिएको पानीका मुहान एकत्रित गरी एउटै खोल्सीबाट बग्ने गराएकाले केही सहज भइरहेको बताए । उनले त्यसरी खोल्साबाट बग्दा घरमा क्षति नहुने विधि अपनाएको बताए ।

ज्योतिनगर र लक्ष्मीनगर माथिको श्रवनडाँडामा जमिन ८० मिटर तलसम्म धसिएको छ । त्यहाँ वर्षामा मात्रै नभएर हिउँदमा पनि ढुंगामाटो खस्ने समस्या रहेको स्थानीय प्रवीण जोशीले बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले चुरे पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरिरहेको बताउँदै विगतको भन्दा जोखिम कम रहेको बताए  ।

नगरप्रमुख पाण्डेका अनुसार संघीय सरकारबाट ४ करोड ५० लाख रुपैयाँ बजेटबाट चेक ड्याम, रिटर्नसङ वाल, बक्स कल्भर्टलगायत कामहरू अहिले भइरहेको छ । यस्तै विपद् प्राधिकरणमार्फत् ४५ लाख रुपैयाँ पहिरो नियन्त्रणका लागि काम भइरहेको छ । त्यस्तै, बुटवल नगरपालिकाले ८५ लाख रुपैयाँ बजेट  छुट्याएको थियो ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका बोर्ड सदस्य डा. सुस्मिता ढकालले ज्योति नगरको पहिरो नियन्त्रणका लागि सामान्य योजना बनाएर नहुने बताइन् । अव बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका सम्भावित जोखिमयुक्त घरको बीमा गर्ने योजनामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप