आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा

आइतबार, ३१ असार २०८०, १८ : ४९
आइतबार, ३१ असार २०८०

बुटवल । रुपन्देहीलाई‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । आइतबार जिल्ला खोप समन्वय समिति रुपन्देहीले भैरहवामा आयोजना कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सो घोषणा गरेका हुन् ।

राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९÷८० मा सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति रुपन्देहीले जनाएको छ । पूर्ण खोप सुनिश्चितताका लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ । सुरुमा ४ वटा रोगविरुद्धको खोपबाट सुरु भएको खोप अहिले नेपालमा १३ वटा रोगविरुद्धको खोप सञ्चालन भइरहेको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले विगतको समयमा महामारीको रूपमा आउने सरुवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटनाबाहेक पूर्ण रूपमा अन्त्य गरिएको बताए । मन्त्री खनालले पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गर्न खट्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए ।

उनले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले सेवासुविधा दिन नसकेको कुरा उठ्नु स्वाभाविक भन्दै महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उनीहरु सेवानिवृत भएपछि सम्मान पत्र र रु. ५० हजारका साथ सम्मान गर्ने लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको बताए

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले स्वास्थ्य सबैका लागि भन्ने नारा भए पनि जिल्ला र प्रादेशिक अस्पतालमा पहुँच नभएका व्यक्तिले स्वास्थ्य सेवा, उपचार नपाएको गुनासो आइरहेको  त्यसलाई सुधार गर्नुपर्ने बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद कुमार गिरीले खोपले रोगसँग लड्ने क्षमता प्रदान गर्ने भएकाले नियमित खोप आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देही जिल्ला २०७३ सालमा पूर्ण खोप जिल्ला पहिलोपटक भएको र त्यसपछिका वर्षहरूमा हरेक वर्ष पूर्ण खोप दिगोपना सुनिश्चितता दिँदै आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप