आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डेंगु नियन्त्रण अभियान सशक्त रुपमा अघि बढाउन मन्त्री जोशीको निर्देशन

मङ्गलबार, ०२ साउन २०८०, २० : ४७
मङ्गलबार, ०२ साउन २०८०

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले डेंगु नियन्त्रण अभियानलाई सशक्त रुपमा अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार मन्त्रालयमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री जोशीले डेंगु नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि प्रदेशका अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । सबै सरोकारवाला निकायहरुसँग समन्वय गर्दै डेंगु नियन्त्रणमा अघि बढ्नु पर्ने उनले बताए ।

‘मन्त्रालयका मातहतका निकाय, सहकारी संस्था, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय, र स्थानीय तहसम्म परिचालन गरेर डेंगु नियन्त्रणको काम गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरुले डेंगुका बिरामीका लागि सेवा प्रवाहमा गम्भीर रुपमा अघि बढ्नु पर्छ । डेंगु नियन्त्रण एवं उपचारमा कुनै कमी नहुने गरी पूर्व तयारी र कार्यान्वयनको योजना निर्माण गरेर अघि बढ्नुपर्छ ।’

मन्त्री जोशीले कोभिड–१९ भन्दा पनि डेंगु जटिल रोगको रुपमा रहेकाले महामारीको रुप लिन नदिन सबै निकाय सतर्क अवस्थामा रहनु पर्ने बताए । जोखिमको समयमा बजारमा हुने औषधिजन्य बस्तुको अभाव हुन नदिन सबै निकायले उचित निर्णयसहित आवश्यक सामग्री खरिद तथा व्यवस्थापनमा जुट्न जरुरी रहेको उनको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारीभित्र रहेर निजी क्षेत्रबाट हुने उपचार तथा प्रयोगशाला शुल्क तोक्नेतर्फ आवश्यक तयारी गर्न समेत उनले निर्देशन दिए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले बागमती प्रदेशमा डेंगुको संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गरी स्वास्थ्यकर्मीसहित टोल तहसम्म परिचालन गर्नुपर्ने बताए ।

हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा अस्पतालले २५०० कीट खरिद गरेको र दैनिक २० देखि २५ वटा खपत भइरहेको बताए । उनले हालसम्म हेटौंडामा डेंगुको जोखिम र बिरामीको अवस्था जटिल नरहेको तर पूर्व तयारीको काम भने भइरहेको बताए ।

स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेको बताउँदै टेष्ट कीट, सिटामोल केही मौज्दात रहेको बताए । उनले सचेतना अभिवृद्धि र रिपोर्टिङको लागि काम भइरहेको बताउँदै गत वर्षमा मकवानपुरमा हेटौंडा र मनहरीमा डेंगुका बिरामी बढी फेला परेको बताए ।

यस वर्षमा पनि हेटौंडा र मनहरीमै डेंगु संक्रमित फेला परेकाले सचेत हुनुपर्ने उनको भनाइ छ ।

बढ्दो छ डेंगु संक्रमण

कार्यक्रममा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले बागमती प्रदेशमा डेंगुको अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयासबारे अवगत गराएका थिए । उनले पछिल्लो समयमा प्रदेशको धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुर लगायतका जिल्लामा डेंगु संक्रमित बिरामीहरु बढ्दो क्रममा रहेको बताए ।

उनका अनुसार बागमती प्रदेशमा गत असार ३१ गतेसम्ममा ४८६ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । सो अवधिमा धादिङमा २७४ जना, काठमाडौँमा ४६, भक्तपुरमा ३७, ललितपुरमा २६, नुवाकोटमा २३, रामेछाप र चितवनमा २१÷२१, काभ्रेमा ११, सिन्धुलीमा १०, मकवानपुरमा ८, रसुवा ४, दोलखामा ३ र सिन्धुपाल्चोक २ जना संक्रमित भेटिएको उनले बताए ।

उनका अनुसार किटजन्य रोग अनुसन्धन केन्द्रबाट गत चैत र वैशाखमा प्रदेशका ५ जिल्लामा भएको डेंगु भेक्टर अध्ययनले २४ प्रतिशत घरमा डेंगु संक्रमणको जीवाणु फेला पारेको थियो । जसमध्ये पानी राखिएको भाँडोका आधारमा काठमाडौँमा सबैभन्दा बढी ४११, भक्तपुरमा ३८६, ललिपुरमा ३५९, मकवानपुर २५७ र चितवनमा २१० गरी कुल १ हजार ६२३ वटा भाँडामा राखिएको पानीमा डेंगु जीवाणु फेला परेको थियो ।

केन्द्रले गरेको अध्ययन अनुसार नमुना लिइएको पानी राखिएको भाँडोहरुमध्ये सबैभन्दा बढी टायरमा १८.६ प्रतिशत, ट्यांकीमा १७.७ प्रतिशत, ड्रममा १०.२ प्रतिशत, जारमा १० प्रतिशत, खुल्ला र जमेका पानीमा ९.४ प्रतिशत, बकेटमा ६ प्रतिशत र फुलका गमलामा ५.४ प्रतिशत डेंगु संक्रमणको जीवाणु भेटिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विष्टले बताए ।

डेंगु नियन्त्रणमा यस्तो छ मन्त्रालयको तयारी

डेंगु संक्रमण नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य कार्यालय प्रमुख, फोकल पर्शनसँग जुम मिटिङ गरी जोखिम नियन्त्रण र लामखुट्टेको स्रोतमै जीवाणु नष्ट गर्ने अभियान थाल्न निर्देशन दिइसकेको जनाइएको छ ।

सबै जिल्ला स्वास्थ्य कार्यालयहरुमा ¥यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न र उपचारको व्यवस्थापनमा जुट्न मन्त्रालयबाट पत्रचार भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विष्टले बताए ।

उनका अनुसार डेंगु नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य कार्यालयहरुबाट महामारी नियन्त्रण ¥यापिड रेस्पोन्स टिम परिचालन तथा प्रतिकार्य र लजिस्टिक व्यवस्थापन, स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट पीसीआर सेवा विस्तार तथा महामारी व्यवस्थापनका लागि टेष्ट किट र रिएजेन्ट खरिद, अस्पतालहरुबाट महामारी नियन्त्रणका लागि इएमटी र आरआरटी परिचालनको तयारी गरिएको छ ।

डेंगु नियन्त्रणका लागि संघीय सशर्त अनुदान मार्फत् किटजन्य रोग नियनत्रणबारे. स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेवीका, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका लागि स्वास्थ्य निर्देशनालयलाई २ लाख रुपैयाँ, १३ वटा स्वास्थ्य कार्यालयलाई १ लाख ५० हजार रुपैयाँका दरले १९ लाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएको उनले बताए ।

त्यस्तै संघीय सशर्ततर्फ नै डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने तथा स्थानीय तहसँगको पैरवीका लागि १३ जिल्ला स्वास्थ्य कार्यालयहरुलाई २ लाख रुपैयाँका दरले २६ लाख रुपैयाँ, स्वास्थ्यकर्मीहरुको तालिम तथा अभिमुखीकरणका लागि स्वास्थ्य तालिम केन्द्रलाई ६ लाख रुपैयाँ बजेट प्राप्त भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप