आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी विधानअनुसार चल्छौं भनेर संकल्प प्रस्ताव पास गरौं : सञ्जय गौतम

बिहीबार, ०४ साउन २०८०, १७ : ११
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले केन्द्रीय समितिको बैठक लाइभ गरिएकोमा असहमति जनाएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा उनले भने, ‘हामीले कस्तो बनाउन खोजिरहेका छौं, म बढो चिन्तित भएको छु सभापतिज्यू ? केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने कुरासँग म पूर्णरुपमा असहमत छु । सबै छताछुल्ल पारेर पार्टीलाई राम्रो हुन्छ जस्तो लाग्दैन ।’

कसले के छ भन्दा पनि आफूहरुले गर्ने निर्णय प्रमुख रहेको उनको भनाइ छ । ‘पार्टी विचारले चल्छ । भीडले पक्कै पनि चल्दैन । कसले के बोल्यो, कसले के भन्छ भन्ने कुरा गौण हुन्छ । हामीले के निर्णय गर्छौँ प्रमुख हन्छ,’ गौतमले भने ।

महामन्त्रीको कार्यतालिकालाई स्वागत भन्दै यसलाई केही परिमार्जन गरेर पास गर्दा पार्टीलाई राम्रो हुने उनको भनाइ छ । 

गठबन्धन र निर्वाचनको निर्मतापूर्वक समीक्षा हुनुपर्नेमा बैठक सत्ता प्राप्तको आत्मारतिमा रमाएको गौतमले बताए । ‘ठूलो पार्टी भयो भनेका छौं । यति सिट जित्यो भनेका छौं । सरकार सबै ठाउँमा बनायौँ भनेका छौं,’ उनले भने, ‘हामीले चुनाव जिते पनि राजनीति हारेका छौं । आज कार्यकर्तामा घोर निराशा छ । आज संगठन मृतप्रायः भएको छ । कहीं कतै उर्जा देखिँदैन । जिल्ला घुमेर आयो, कार्यकर्तामा उर्जा भेटिँदैन ।’

उनीहरुलाई कसरी उर्जावान बनाउने भन्नेमा बैठक चिन्तित हुनुपर्ने आवश्यकता उनले औंल्याए । गौतमले पार्टी विधि र विधानले नचलेको भन्दै सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाए । ‘आम निर्वाचन सम्पन्न गरौं । तर हामीले पार्टीको संसदीय बोर्ड बनाएनौं । पार्टीका विभाग अहिलेसम्म बनाउन सकेका छैनौं । भ्रातृ संस्था लथालिङ छन् । केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको छ । यसले पार्टीमा न्याय र विवेक कसरी स्थापित हुन्छ ?,’ उनको प्रश्न छ । 

पार्टी विधि र विधानअनुसार चल्छौं भनेर एउटा बैठकबाट संकल्प प्रस्ताव पारित गर्न उनको प्रस्ताव छ । यस्तै पार्टी नेता नेताहरुको हुकुमले गरेको भन्दै अब विधिले निर्देशित गर्नुपर्ने उनको भनाइ छ । ‘के पार्टी नेताहरु भगवान हो ? राजा हो ? यहाँहरुको हुकुम मान्नुपर्ने हो ? कि विधिले हामीलाई निर्देशित गर्ने हो ? उहाँहरुले जे गरे पनि हुने ? हामीले बोल्न पनि नहुने ? कस्तो हो यो राजनीति ?,’ गौतमले भने ।

जिल्ला कार्यसमितिले अनुशासनका नाममा मनोमानी गरेको उनको भनाइ छ । ‘केन्द्रीय समिति मुकदर्शक भएर बसेको छ । जिल्ला कार्यसमितिले आस्था र विचारका आधारमा साथीहरुको मानमर्दन गर्ने काम गरेको छ । त्यो के न्यायोचित छ ?,’ उनी प्रश्न छन्, ‘अनुशरण गरी केन्द्रीय अनुशासन समितिले कसैको फुकुवा गर्न र कसैलाई कारबाही गर्न मिल्छ ? यसको विधि र पद्धति होला नि ? यसमा केन्द्रीय कार्यसमिति बोल्नुपर्छ ।’

भ्रष्टाचार र सुशासनको मुद्दा अहिले प्रमुख बनेको भन्दै गाउँमा जाने र मुख देखाउने अवस्था नरहेको उनको भनाइ थियो । यसमा पार्टीले आफ्नो धारणा राख्नुपर्ने गौतमले बताए । असार महिनामा मात्र विदेश जान १ लाख ९६ अजार पासपोर्ट बनाइएको भन्दै देशमा संकट आउन लागेको उनको तर्क छ । 

यो राजनीति प्रणाली पनि डिरेल भयो भने कुनै आश्चर्य मान्नु नपर्ने गौतमले बताए । सरकारमा भएका मन्त्रीहरुले सांसद र केन्द्रीय सदस्यसँग कुनै समन्वय नगरेको उनको आरोप छ ।  उनले भने, ‘मन्त्री भएपछि मात्र जान्ने हुँ । अरु सबै झारपात हुन भनेर उसका समस्या पनि नबुझ्ने, संगठनका समस्या पनि नबुझ्ने प्रवृति मन्त्रीमा मौलाएको छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप