आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रसुवामा उत्पादन भएको मिनिरल वाटर जापानी बजारमा पनि बिक्री वितरण हुने

शनिबार, ०६ साउन २०८०, १९ : ५८
शनिबार, ०६ साउन २०८०

टोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ ।

जापानको राजधानी टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपालको रुद्र गंगा नेचुरल वाटर कम्पनी लिमिटेडले रसुवाको हिमाली भेगमा उत्पादन गरेको पानी जापानको बजारमा बिक्रीवितरण गर्नका लागि जापानको हार्मोनी कम्पनीसँग सहकार्य गरेको बताएको छ ।

ती दुइ कम्पनीले एक संयुक्त कार्यक्रमको आयोजना गरी नेपाली बजारमा उत्पादित पानीलाइ जापानी बजारमा बिक्री वितरण गर्ने कार्यको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा हार्मोनी कम्पनीका प्रमुख योकोयामा दान्ज्योले जापानमा अहिले तीन हजार मिटर उचाइ सम्मको मुलबाट निस्किएको पानी खाइरहेको बताउँदै अब नेपालको रसुवा जिल्ला जो ७ हजार मिटरको उचाइबाट निस्किएको पानीलाइ जापानी बजारमा पुर्र्याउने जमर्को गरेको जानकारी दिए ।

उच्च पहाडी भेगबाट निस्किएको मुलको पानी पिउँदा मिठो र स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकाले नेपालमा उत्पादित पानीलाई जापानमा बजारीकरण गर्न लागेको दान्ज्योको भनाइ छ । नेपालमा उत्पादित पानीको विभिन्न चरणको परीक्षणहरु सकेर जापानको बजारमा बिक्री अनुमति पाएको हार्मोनी कम्पनीका केशवराज घिमिरेले जानकारी दिए ।

‘जापान जस्तो ठाउँमा नेपालमा उत्पादित पानीले बिक्री वितरणका लागि अनुमति पाउनु हाम्रो लागि खुशीको कुरा हो’ घिमिरेले भने– ‘नेपालको उत्पादन जापानी बजारमा बजारीकरण गर्ने हाम्रो उद्देश्य पुरा भएको छ।’

त्यस्तै रुद्र गंगा कम्पनी लिमिटेडका प्रमुख गणेश भण्डारीले नेपालको पानी जापानमा बिक्री संगै दुर्लभ रेडपाण्डालाइ समेत विश्वमा चिनाउने उद्देश्यले बोतलको डिजाइनमा रेडपाण्डाको चित्र राखिएको बताए । ‘नेपालको पानीलाइ जापानमा बजारीकरण गर्ने कुरा त मुख्य भैहाल्यो, त्योसँगै रसुवाको रेडपाण्डालाइ पनि विदेशमा चिनाउने उद्देश्य हो’ भण्डारीले भने ।

प्रोडक्ट लन्च कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाली उत्पादन जापानको बजारमा आउनु भनेको नेपाल र नेपालीहरुको गर्वको कुरा भएको उल्लेख गरे । कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघ–सस्थाका प्रतीनिधिहरुले शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप