सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल टीट्वान्टी क्यानडा : मोन्ट्रियल टाइगर्सको जितमा दीपेन्द्रको महत्त्वपूर्ण योगदान

बुधबार, १० साउन २०८०, १० : २३
बुधबार, १० साउन २०८०

काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टोली मोन्ट्रियल टाइगर्स विजयी भएको छ । मोन्ट्रियल टाइगर्सले बुधबार खेलिएको खेलमा भ्याकुभर नाइट्सलाई ६ विकेटले हराएको हो । 

मोन्ट्रियल टाइगर्सको जितमा नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पनि महत्त्वपूर्ण योगदान गरे । बलिङतर्फ उनले एक विकेट लिए भने ब्याटिङतर्फ पनि अविजित २२ रन बनाए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्यानकुभर नाइट्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मोन्ट्रियल टाइगर्सले १८.१ ओभरमा चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । दीपेन्द्रले भ्यानकुभर नाइट्सका अनुभवी ओपनर ब्याट्सम्यान फाखर जामनको विकेट लिएका थिए । दीपेन्द्रले ७३ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका पाखर जामनलाई कार्लोस ब्राथवेटद्वारा क्याच गराएका थिए । 

मोन्ट्रियल टाइगर्सका लागि दीपेन्द्र छैटौं नम्बरमा क्रिज समाल्न आएका थिए । ६७ रनको कूल स्कोरमा मोन्ट्रियल  टाइगर्सले दीलप्रित सिंह (२१ रन) का रुपमा आफ्नो चौथो विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा प्रवेश गरेका दीपेन्द्रले टोलीलाई विजयलक्ष्यसम्म पुर्‍याएका थिए । 

दीपेन्द्र र सरफान रुथरफोर्डले टोलीका लागि ८६ रनको योगदान गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रुथरफोर्डले अविजित ८४ रन बनाएका थिए । दीपेन्द्रको टोली मोन्ट्रियल टाइगर्स लगातार तीन खेलमा जित हात पार्दै ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । भ्यानकुभर नाइट्स समान खेलबाट दुई अङ्क जोड्दै पाँचौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप