सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अशोभनीय व्यवहारका कारण भारतीय क्रिकेट टोलीकी कप्तानमाथि दुई खेलको प्रतिबन्ध

बुधबार, १० साउन २०८०, ११ : ४३
बुधबार, १० साउन २०८०

काठमाडौँ । भारतको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आचरणसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा उनीमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो । 

आईसीसीले उनलाई आचरण सम्बन्धी नियमको लेभल दुईअन्तर्गत कारबाही गरेको हो । यस्तो कारबाही भोग्ने कौर पहिलो महिला खेलाडी बनेकी छन् । भारतीय टोलीकी कप्तान ३४ वर्षीया कौरमाथि उनले पाउने म्याच शुल्कबाट ७५ प्रतिशत जरिवाना तिराउने निर्णय पनि गरेको छ । 

आईसीसीबाट दुई खेलको प्रतिबन्धमा परेपछि अब कौरले आगामी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सुरुका दुई खेल खेल्न पाउने छैनन् । एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।

हालै सम्पन्न बंगलादेशविरुद्धको महिला एकदिवसीय क्रिकेट प्रतियोगिताका क्रममा कौरले अशोभनीय व्यवहार प्रदर्शन गरेकी थिइन् । तेस्रो तथा निर्णायक महिला एकदिवसीय खेलमा कौरले गरेको अभद्र व्यवहारलाई लिएर उनको व्यापक आलोचना पनि भएको थियो । 

ढाकामा सम्पन्न भारत र बंगलादेशबीचको तेस्रो एकदिवसीय खेल बराबरीमा सकिएको थियो । बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । जवाफमा भारतले पनि ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय २५ रन मात्र बनाउन सकेको थियो । 

उक्त नतिजापछि तीन खेलको शृङ्खला पनि १—१ को बराबरीमा सकिएको थियो । गत शनिवार यी दुई टोलीबीच तेस्रो तथा निर्णायक खेल भएको थियो । खेलका क्रममा भारतीय टोलीकी कप्तान कौर क्याच आउट भएकी थिइन् । 

महत्वपूर्ण क्षणमा आफू क्याच आउट भएपछि भारतीय टोलीकी कप्तान आक्रोशित बनेकी थिइन् । त्यसपछि उनले अम्पायरको निर्णयमाथि नै प्रश्न उठाएकी थिइन् । निरन्तर अम्पायरको निर्णयमाथि प्रश्न उठाउँदै उनले आफूले बोकेको ब्याटले स्पम्पलाई जोडले हिर्काएकी थिइन् ।

खेल सकिएपछि पनि कौरले सार्वजनिक अभिव्यक्ति दिँदै अम्पायरले गलत निर्णय दिएको आरोप लगाएकी थिइन् । उनले आफूलाई क्याच आउट दिने अम्पायरको निर्णय ‘निराशाजनक’ भएको बताएकी थिइन् । उनी आक्रोशित भएको देखेर घरेलु टोली बङ्गलादेशका खेलाडी चुपचाप मैदानबाट बाहिरिएका थिए । बङ्गलादेशका खेलाडीहरू ट्रफीसहित तस्बिर खिचाउनबाट पनि तर्किएका थिए । 

सोही विषयलाई लिएर बङ्गलादेशकी कप्तान निगार सुल्तानाले पनि भारतीय टोलीकी कप्तानको रवैया ठिक नभएको प्रतिक्रिया दिएकी थिइन् । उनले कौरकै अशोभनीय व्यवहारका कारण आफूहरू खेल सकिएलगत्तै चुपचाप मैदानबाट बाहिरिएको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप