सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सन्यासको घोषणा गरे स्टुअर्ट ब्रोडले

आइतबार, १४ साउन २०८०, १२ : ०९
आइतबार, १४ साउन २०८०

काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली क्रिकेटर स्टुअर्ट ब्रोडले सन्न्यास लिने घोषणा गरेका छन् । उनले अस्ट्रेलियाविरुद्घको परम्परागत एसेस टेस्ट शृंखला सकिएलगत्तै सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका हुन् । 

अहिले इङ्ल्यान्ड र अस्ट्रेलियाबीच पाँचौं तथा अन्तिम एसेस टेस्ट चलिरहेको छ । एसेस शृंखलामा अस्ट्रेलिया २—१ ले अगाडि छ । पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो भने तेस्रो टेस्ट घरेलु टोली इङ्ल्यान्डले जितेको थियो । 

चौथो टेस्ट भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो । उनले शुक्रबार नै सन्न्यासको योगदान बनाएका थिए । त्यसपछि उनले यस विषयमा आफ्ना पुराना मित्रद्वय जेम्स एन्डर्सन र जोए रुटलाई आफ्नो निणर्य सुनाएका थिए । 

एन्डर्सन र रुटसँग सल्लाह गरेपछि उनले आफ्नो सन्न्यासको निणर्य सार्वजनिक गरेका हुन् । ३७ वर्षीय ब्रोड टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पाँचौं स्थानमा छन् । टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तिब्रगतिका बलरहरुको सूचिमा भने ब्रोड दोस्रो स्थानमा छन् । 

ब्रोडले टेस्ट क्रिकेटमा हालसम्म ६ सय दुई विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने १५ रन दिएर आठ विकेट हो । टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलर भने श्रीलंकाका मुथैया मुरलीधरन हुन् । उनले टेस्ट क्रिकेटमा आठ सय विकेट लिएका छन् । 

टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तिब्रगतिका बलर भने जेम्स एन्डर्सन हुन् । उनले टेस्ट क्रिकेटमा ६ सय ९० विकेट लिएका छन् । ‘सन्न्यासको निणर्य लिनु मेरा लागि सहज थिएन । तर, यसका लागि मैले साथीहरुसँग पनि सल्लाह गरेँ । मेरो विचारमा मेरा लागि सन्न्यास लिने यो नै सबैभन्दा उपयुक्त अवसर हो,’ उनले भनेका छन् । 
   
ब्रोडकै लागि भए पनि पाँचौं एसेस टेस्ट जित्नुपर्ने दबाबमा छ, इङ्ल्यान्ड । पाँचौं टेस्टको तेस्रो दिनको खेल सकिँदासम्म तीन सय ७७ रनले अगाडि छ । इङ्ल्यान्डले पहिलो पालीमा दुई सय ८३ रन बनाएको थियो । अस्ट्रेलियाले भने पहिलो पालीमा दुई सय ९५ रन बनाएको थियो । 

तेस्रो दिनको खेल समाप्त हुँदासम्म इङ्ल्यान्डले आफ्नो दोस्रो पालीमा नौ विकेट गुमाएर तीन सय ८९ रन बनाएको छ । एकदिवसीय क्रिकेटमा भने ब्रोडले एक सय ७८ विकेट लिएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २३ रन दिएर पाँच विकेट हो । 

यसैगरी टीट्वान्टी क्रिकेटमा पनि ब्रोडले ६५ विकेट लिएका छन् । टीट्वान्टी क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २४ रन दिएर चार विकेट हो । पहिलो श्रेणीको क्रिकेटमा भने नौ सय ४८ विकेट लिएका छन् । यसका अतिरिक्त ‘लिस्ट ए’ क्रिकेटमा ब्रोडले दुई सय १६ विकेट लिएका छन् । 
 
यसैगरी ब्रोडले टेस्ट क्रिकेटमा तीन हजार ६ सय ४७ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ६९ रन हो । एकदिवसीय क्रिकेटमा उनले पाँच सय २९ रन बनाएका छन् । सन् २००७ को डिसेम्बर ९ देखि १३ तारिखसम्म भएको श्रीलंकाविरुद्घको टेस्टमा उनले ‘डेब्यू’ गरेका थिए । सन् २००६ को अगस्त ३० तारिखमा भएको पाकिस्तानविरुद्घको एकदिवसीय खेलमा उनले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप