आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संगीतिक क्षेत्रमा गीतकार अन्यायमा पर्ने गरेका छन् : मदनकृष्ण श्रेष्ठ

मङ्गलबार, १६ साउन २०८०, ११ : २२
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली संगीतिक क्षेत्रमा गीतकार अन्यायमा पर्ने गरेको बताए । उनले आफैँले रचना गरेर गाएको ‘अरबौँ मान्छेको भिडमा’ गीत लोकप्रिय हुन ३२ वर्ष लागेको समेत बताए ।

राजधानीमा आयोजित गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को  आधुनिक गीतहरू एल्बम ‘चुपचाप मन पराएँ’ सार्वजनिक कार्यक्रममा गीतको माया गीतकार, संगीतकार र गायक गायिकालाई उतिकै हुने समेत उनको धारणा रहेको थियो ।

‘मलाई गीत लेख्न निकै रहर लाग्ने गरेको छ’, श्रेष्ठले भने ‘तर गीतकार सधैँ पछाडि पर्दो रहेछन् । रेडियोमा कार्यक्रम प्रस्तोताले गीतकार तथा संगीतकारको नामै लिँदैनन् ।’

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अलावा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, साहित्यकार डा.नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि सिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रूपमा एल्बम सार्वजनिक गरे ।

एल्बममा ७ गीत रहेका छन् । राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रवीण बेडुवाल, निशान भट्टराई, मेलिना राई र रचना रिमाल लगायत गायक गायिकाको स्वर छ । कीर्ति न्यौपाने (दिवाकर शर्मा)ले ६ र सरोज कोइरालाले एक गीतमा संगीत भरेका छन् ।

एल्बममा समावेश गीतका म्युजिक भिडियोहरू पनि तयार पारिएका छन् । ती भिडियोहरूलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, विनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् । समारोहमा एल्बममा समावेश सात वटै गीतका म्युजिक भिडियो प्रदर्शन गरियो ।

एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘माया रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् । 

कार्यक्रममा साहित्यकार डा.नवराज लम्सालले गीतकार प्रतीकद्वारा रचना गरिएका गीतहरूको प्रशंसा गर्दै यी गीतहरू कालजयी बन्न सम्भावना बोकेको धारणा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप