आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो : डा.रुणा झा

मङ्गलबार, १६ साउन २०८०, १२ : ३३
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको बताएकी हुन् । 

प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको उनले बताइन् । उनले अन्य देशहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्स्टिच्युटका रूपमा हुने गरेको भन्दै नेपालमा भने नीति नियम बनाउने, गुणस्तर हेर्ने, लाइसेन्सिङ हेर्ने, परीक्षण गर्ने काम जनस्वास्थ्य प्रयोगशाला एक्लैले हेर्नुपरेको जिकिर गरिन् । 

डा.झाले भनिन्, ‘धेरै प्रयोगशालाहरू त अस्पताल मातहत छन् । अस्पतालको अनुगमन गर्ने छुट्टै निकाय छ । त्यहाँका प्रयोगशालाहरू पनि सोझै हाम्रो पहुँचमा छैनन् । जसलाई वर्गीकरण चाहिएको छ, उहाँहरू चाहिँ हामीसँग आउनुहुन्छ । मापदण्ड हामीले सिमिलर (एकरुपता) बनाएपनि अस्पतालको प्रयोगशाला हाम्रो निगरानीमा पर्दैन । अस्पतालहरूको अनुगमन प्रदेश, मन्त्रालयबाट हुन्छ । स्वास्थ्य संस्थाको विभिन्न ठाउँबाट अनुगमन हुँदा खेरी त्यसको समग्रमा एकीकृत तथ्याङ्क राख्न र सबै नै कस्ता छन् भनेर जानकारी लिन चुनौती छ । जनशक्ति अभाव छ नै । रक्तसञ्चार र नियमन शाखामा दुई जनाको दरबन्दी छ । दुवै जना नवौँ तहको हुनुहुन्छ । दरबन्दीको टाइप पनि मिलेको छैन । संख्या पनि मिलेको छैन । कामको भेराइटीज नै धेरै छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई । १ लाख ३२ हजार सेवाग्राहीको स्याम्पल पनि हेर्नुपर्‍यो । धेरै जनशक्ति यसैमा लागिरहेको छ । अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा खेरी अलिकति अप्ठ्यारो भएकै हो । गुणस्तर नियन्त्रण सम्मको लागि त ठिकै हो । तर, अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुनुपर्थ्यो ।’

प्रयोगशालामा अनुसन्धानका क्रियाकलापहरू कम भएको पनि उनको भनाई छ । उनले कार्यालय  भनेर बनाइएको संरचनामा अहिले पनि ल्याब सञ्चालन भइरहेको झाले बताइन् । उनले सुरुमा संरचनामै सुधार गर्नुपर्ने भन्दै नयाँ भवन निर्माण कार्य अघि बढेको जानकारी दिइन् । उनले प्रयोगशालाका लागि रिसर्च लेभलका जनशक्तिहरू आवश्यक पर्ने भए पनि जनशक्ति अभावमा काम गर्न बाध्य भएको बताइन् । 

स्वास्थ्यको अनुगमन एकीकृत तवरबाट हुन नसकिरहेको बताउँदै डा.झाले केन्द्रीय प्रयोगशाला र प्रादेशिक प्रयोगशालाबिच समन्वय नभएको बताइन् । ‘ए’ र ‘बी’ प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हेर्ने, ‘सी’ प्रयोगशालालाई प्रदेशले हेर्ने, ‘डी’ र ‘ई’लाई स्थानीय तहले हेर्ने भनेर वर्गीकरण गरिए पनि प्रभावकारी समन्वय हुन नसकेको बताउनु भयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत हाल दैनिक औसत तीन सयदेखि पाँच सय जनाको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।  

फरक प्रसङ्गमा उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगुको सेरोटाइप अध्ययन गर्न थालेको बताइन् । उनले भनिन्, ‘डेंगु पोजेटिभ नेगेटिभ मात्रै नभएर कुन प्रकृति(टाइप)को डेंगु हो भनेर छुट्याउन सक्ने अवस्थामा छौँ । यस वर्षको पनि डेंगु सिरोटाइपको अध्ययन गरिरहेका छौँ । स्याम्पलहरू कलेक्ट गरेका छौँ । यसको परीक्षण गर्ने तयारीमा छौँ ।  डेंगुको कुन सेरोटाइप हो भनेर हेर्ने हो । विभिन्न वर्षमा एउटै सेरोटाइप नहुन सक्छ । यो वर्ष कुन सेरोटाइप आयो भनेर अध्ययन गर्दैछौ । बाहिरबाट हेर्दा सबै डेंगु हो र, त्यसको थप विश्लेषण गरेर कुन सेरोटाइप हो भनेर अध्ययन गर्न लागेका हौं । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप