आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइने

काठमाडौँमा गठबन्धनको बैठक
मङ्गलबार, १६ साउन २०८०, २० : २१
मङ्गलबार, १६ साउन २०८०

मकवानपुर । बागमती प्रदेशका बिना विभागीय मन्त्रीको जिम्मेवारीको छिनोफानो साउन १८ गते हुने भएको छ । 

११ मन्त्रालय रहेको प्रदेशमा एक मन्त्रालय थपेर आगामी बिहीबार बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति सत्ता गठबन्धनका नेताहरुबीच भएको छ । जस अनुसार प्रदेशमा अब १२ वटा मन्त्रालय हुनेछन् ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भएको अनौपचारिक छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १८ गते बिहीबार जिम्मेवारी तोक्ने जनाएको स्रोत बताउँछ । सोही अनुसार मन्त्रालय विभाजनको तयारी गरिएको स्रोतको भनाइ छ ।

एक मन्त्रीका अनुसार साउन १८ गते बिना विभागीय मन्त्रीले जिम्मेवारी पाउने गरी तयारी भइरहेको छ । ‘बिना विभागीय मन्त्रीको व्यवस्थापन हुन नसक्दा समस्या हुँदै आएको थियो । सरकारमाथि पनि थुप्रै प्रश्न उठेका छन् । सो विषयमा मन्त्रिपरिषद् बैठकमा पनि अनौपचारिक छलफल भएको छ,’ ती मन्त्रीले भने, ‘बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने गरी १८ गते छलफल गर्ने सत्ता गठबन्धनका दलहरुबीच सहमति बनेको छ ।’

विगत ७० दिनदेखि कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । चित्रकारलाई पछि विभाग तोकिनेगरी जेठ ७ मा मन्त्री नियुक्त गरिएको थियो ।

जिम्मेवारी नतोकिएकै कारण मन्त्री नियुक्त भएदेखि हालसम्म उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक कोठामा एक पीए (स्वकीय सचिव), एक अधिकृतस्तरका कर्मचारी (निजी सचिव) र सुरक्षार्थ एक पीएसओ लिएर बस्दै आएका छन् ।

काठमाडौँमा सत्ता गठबन्धनको बैठक बस्दै

बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्ने विषयमा आउँदो १८ गते बिहीबार काठमाडौँमा बैठक बस्ने तय भएको छ । बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्ने विषयमा प्रदेशमा कायम रहेको मन्त्रालय विभाजनका विषयमा सत्ता गठबन्धनबीच दलीय सहमति जुट्न सकेको छैन ।

सहमति जुटाउन काठमाडौँमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको हो । बैठक कहाँ र कति बजे बस्ने भन्ने विषयमा जानकारी गराइएको छैन ।

प्रदेशबाट टुङ्ग्याउनु पर्ने उक्त समस्या प्रदेशस्तरबाट समाधान हुन सक्ने अवस्था नरहेकाले काठमाडौँमा बैठक राखिएको हो । काठमाडौँको उक्त बैठकमा आवश्यकता अनुसार सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

सोही अनुसार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामासहित मुख्य नेताहरु काठमाडौँ केन्द्रित भएका छन् । बजेट पास गरेलगत्तै काठमाडौँ होमिएका कांग्रेसका नेता तथा सांसदहरु काठमाडौँमै छन् ।

बैठकका लागि मुख्यमन्त्री जम्कट्टेल, एकीकृत समाजवादी पार्टीका नेताहरु पनि काठमाडौँ जाने तयारी छ । मुख्यमन्त्री जम्कट्टेल साउन १७ मै काठमाडौँ पुग्ने बुझिएको छ ।

मन्त्री चित्रकारको जिम्मेवारीका विषयमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन । मन्त्री चित्रकारको जिम्मेवारी र मन्त्रालय थप गर्ने विषयमा कांग्रेसले भौतिक मन्त्रालय विभाजन गरी सहरी विकास मन्त्रालय निर्माण गर्न प्रस्ताव गरेको छ ।

तर, कांग्रेसको उक्त प्रस्ताव नेकपा माओवादी केन्द्रले मानेको छैन । आफ्नो भागमा परेको मन्त्रालय विभाजन गरी कांग्रेसले नै मन्त्री चित्रकारको जिम्मेवारी तोक्नुपर्ने माओवादी केन्द्रको प्रस्ताव रहेको छ । भौतिक मन्त्रालय हाल माओवादी केन्द्रको भागमा छ । सो मन्त्रालय विभाजन भए आफूहरु आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी राख्ने माओवादी केन्द्रको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप