आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादी कमजोर हुनुमा नेतृत्वको कि नेताको कमजोरी ?

केन्द्रीय समितिमा प्रचण्डको आरोप– नेताहरूले नै माओवादीलाई भोट हालेनन्
बिहीबार, १८ साउन २०८०, १३ : ३५
बिहीबार, १८ साउन २०८०

काठमाडौं । माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल जारी छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बुधबारदेखि सुरू भएको बैठकमा उनले केन्द्रीय सदस्यहरू अवसरवादी भएको, तोकिएको क्षेत्रमा गएर जिम्मेवारी पूरा नगरेको, सरकारले गरेका राम्रा कामको जनतामाझ प्रचार नगरेकोमा तीव्र असन्तुष्टि जनाएका थिए ।

‘केन्द्रीय सदस्यहरू मात्रै ३८५ जना छन् । एक सय ९८ जना वैकल्पिक सदस्य छन् । केन्द्रीय विभाग, जनवर्गीय संगठन, प्रदेश समिति, जिल्ला, पालिका र टोलसम्म कमिटी गठन भएका छन् । पार्टी सदस्यहरू साढे सात लाखभन्दा बढी छन् । निर्वाचनमा पार्टीले जितेको सिट संख्या जम्मा १८ छ । सदस्यहरूका आफन्तले पनि माओवादीलाई भोट हालेनन् कि भन्ने मलाई शंका छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले बताए ।

संघदेखि वडासम्म पार्टी नेतृत्वले मात्रै जिम्मेवारी लिने हो भने पार्टी विघटन गर्ने चेतावनी प्रचण्डले दिएका थिए । आठौँ महाधिवेशनले केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय गरे पनि विभिन्न पार्टीबाट आएका नेताहरूको व्यवस्थापन गर्नुपर्ने बाध्यताले समितिको आकार ठूलो भएको उनले बताएका थिए । विगतमा आफूबाट पनि केही गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो गल्ती नहुने प्रतिवद्धतासमेत उनले जनाएका थिए ।

माओवादी रूपान्तरणका लागि भदौदेखि तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने, मंसिरमा विधान सम्मेलन गरी केन्द्रीय समितिको आकार घटाउने, केन्द्रीय समितिको बैठकले सबै नेताहरूको जिम्मेवारी तोक्ने र यस वर्षको अन्त्यमा विशेष महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ । उनले प्रतिवेदन पेस गरेपछि ओम शर्मा, हिमाल शर्मा, सुरेन्द्र कार्की, लक्ष्मण पन्त, रामकुमारी चौधरी, पुष्पविक्रम मल्ल, कृष्ण केसी लगायत १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा नेतृत्व आफैँ रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण हुन नसक्ने भन्दै उनीहरूले प्रचण्डको कडा आलोचना गरेका थिए । उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार नवसामन्तहरूको कब्जामा रहेको, नेतृत्व परिवारवादमा फसेको, नेताहरूको कार्यशैली पारदर्शी नभएको जस्ता गम्भीर आरोप लगाएका थिए । 

अध्यक्ष प्रचण्डले मौखिक रूपमा कर्मकाण्डी ढङ्गले प्रतिवेदन प्रस्तुत गरेर सिङ्गो केन्द्रीय समितिलाई अपमान गरेको भन्दै सदस्यहरुले असन्तुष्टि पोखेका थिए ।

केही केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने क्रममा अध्यक्षको कडा आलोचना गरेपछि अन्य केही सदस्यले नेतृत्वलाई खुइल्याएर पार्टी नबन्ने बताएका छन् । उनीहरूले अध्यक्ष एक्लैले चाहेर पार्टी नबन्ने भन्दै सबैले आ–आफ्नो जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । उपाध्यक्ष मात्रिका यादवले दोष नेतृत्वलाई मात्र देखाएर अन्य नेताहरू उम्किन नमिल्ने जिकिर गरे ।

‘४०९ जना माओवादी केन्द्रीय सदस्य छन् तर जता पनि अध्यक्षमात्रै दौडिनु परेको छ । एकातिर सरकारको जिम्मेवारी छ, अर्कातिर पार्टीको स–साना काममा पनि अध्यक्षज्यू जानु परेको छ । हामीले आफ्नो काम नगर्ने अनि नेतृत्वको मात्र आलोचना गरेर हुन्छ ?’, रातोपाटीसँग कुरा गर्दै उनले भने ।

यादवले नेताहरू आदेशकर्ता भएको, सुविधाभोगी भएको पार्टीले दिएको जिम्मेवारीसमेत पूरा नगरेको आरोप लगाए । केन्द्रीय समिति बैठकले सबै नेताहरूलाई पालिकाको जिम्मेवारी तोक्नुपर्ने र प्रत्येक महिना कार्यप्रगतिको रिपोर्ट पार्टीलाई अनिवार्य बुझाउने बाध्यकारी नियम बनाउनुपर्ने उनको भनाइ थियो ।

‘अब यसरी पार्टी चल्दैन । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबैलाई एकएक वटा पालिकाको जिम्मा दिनुपर्छ । इन्चार्ज भनेका छन्, प्रदेशमा गएर आदेश दिएर फर्केका छन् । आदेशकर्ता भएर काम हुँदैन, सबैले काम गर्नुप¥यो । अहिले नेतृत्वको आलोचना गर्ने होइन, सबैले सहयोग गर्ने बेला हो’, उनले भने ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनको समर्थन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शालिकराम जम्कट्टेलले नेतृत्वको आलोचना गरेरमात्र पार्टी निर्माण नहुने बताए । अध्यक्षज्यूले मैलेमात्र धेरै काम गर्नुप¥यो, अन्य नेताहरूले काम गर्न सकेनन् भनेर आफूहरुलाई सचेत गराएको भन्दै उनले अब सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

‘अध्यक्षज्यूले पार्टी बनेन भन्नुको अर्थ हामीले जिम्मेवारी पूरा गरेनौँ भन्ने हो । सबैतिर उहाँमात्र दौडिरहनुभएको छ । एक जनालाई भ्याइ–नभ्याइ छ, हामीहरूले काम गरेका छैनौं’, उनले भने, ‘आफूले जिम्मेवारी पूरा नगर्ने अनि नेतृत्वको आलोचना गरेर पार्टी निर्माण हुँदैन । समाजवादको लक्ष्य पूरा गर्न सबैजनाले आ–आफ्नै ठाउँमाबाट योगदान गरौँ । माओवादी फेरि उठ्नेछ ।’

उनले माओवादी पुनर्निर्माण गर्नका लागि सबैको जिम्मेवारी अनिवार्य तोकेर फिल्डमा पठाउनु पर्ने, काम नगर्नेलाई दण्डको सजाय दिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप