आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कथाकार राजेन्द्र पराजुलीको ‘जन्तरमन्तर’

आइतबार, २१ साउन २०८०, २० : ४५
आइतबार, २१ साउन २०८०

काठमाडौँ । साहित्यकार राजेन्द्र पराजुलीको नयाँ कथासङ्ग्रह ‘जन्तरमन्तर’ बिहीबारदेखि बजारमा आएको छ । मूलतः कथाकारका रूपमा परिचित पराजुलीको यो छैटौँ कथासङ्ग्रह हो । 

यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासङ्ग्रह प्रकाशित भएका छन् । जन्तरमन्तरमा १५ वटा कथा रहेका छन् ।

शुक्रराज शास्त्री कथासङ्ग्रह २०७३ सालको मदन पुरस्कारको छोटो सूचीमा परेको थियो । कथामा देशको राजनीति, दशक लामो सशस्त्र द्वन्द्व, उत्तरद्वन्द्वका सामाजिक–आर्थिक र राजीतिक प्रभावजस्ता विषयलाई उनले मिहिन ढंगमा उठाउँदै आएका छन् ।

साथै, उनका कथाले सामाजिक विद्रुपता, विभेद, जनताका अधूरा सपना र सीमान्तकृत–किनारीकृत नागरिकका पीडालाई दृश्यमा उतारेका छन् । आफू बाँचेको समय, जन्मथलो काँठ र सहरका चित्र पनि उनका कथामा मज्जाले देख्न सकिन्छ । सहरले थिचिँदै गएको काँठबारे उनले आफ्ना कथामा विस्तृत रुपमै उठाउँदै आएका छन् । 

६ कथासंग्रसहित पराजुलीका अनायिका उपन्यास भ्रष्ट संवेदना कवितासंग्रह र कोटेश्वरको केटो संस्मरणकृति प्रकाशित भइसकेका छन् । पत्रकारितामा आबद्ध उनका कथामा पेसागत विकृतिसमेत केलाइएका हुन्छन् । जन्तरमन्तर शिखा बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य रु. ३७५।– रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप