सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप र विश्व कपमा सकिबले बंगलादेशको कप्तानी गर्ने

शुक्रबार, २६ साउन २०८०, १६ : ०२
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । सकिब अल हसन पुनः बंगलादेशी क्रिकेट टोलीको कप्तान बनेका छन् । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले शुक्रबार ३६ वर्षीय सकिबलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेबारी सुम्पिएको हो । 

अब आगामी एसिया कप क्रिकेट र आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा सकिबले नै बंगलादेशी टोलीको नेतृत्व गर्नेछन् । एसिया कप क्रिकेटको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । 

यसैगरी आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखम्म भारतमा आईसीसी एकदिवसीय विश्वकप आयोजना हुँदैछ । यसपटक एसिया कप क्रिकेट पनि ५० ओभरको खेलाइने छ । बंगलादेशी टोलीका कप्तान तामिम ईक्बालले अगस्ट ३ तारिखमा आफ्नो पदबाट राजीनामा दिएका थिए । 

स्वास्थ्य समस्या (पिठ्यूँमा लागेको चोट) का कारण एसिया कप क्रिकेट खेल्न नसक्ने भएपछि ईक्बालले पदबाट राजीनामा दिएका हुन् । सकिबले उनकै स्थान लिएका हुन् । दुई ठूला प्रतियोगिताको संघारमा कप्तानको जिम्मेबारी समाल्न आइपुगेका सकिबको लागि यो अवसरसँगै चुनौति पनि हो ।

एसिया कप सकिएलगत्तै बंगलादेशले आगामी सेप्टेम्बरमा घरेलु मैदानमा न्युजिल्यान्डसँग एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । न्युजिल्यान्डविरुद्घको शृंखलालगत्तै बंगलादेशी टोली विश्वकप खेल्न भारत प्रस्थान गर्नेछ । 

बीसीबीका अध्यक्ष नजमुल हसनले ढाकास्थित आफ्नो निवासमा अप्रत्यासित रुपमा पत्रकारसम्मेलनको आयोजना गरी सकिबलाई एकदिवसीय टोलीको कप्तान बनाइएको घोषणा गरेका थिए । ‘सकिब अल हसनले आगामी एसिया कप, न्युजिल्यान्डविरुद्घको एकदिवसीय शृंखला र विश्व कपमा राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन्,’ पत्रकारसम्मेलनमा अध्यक्ष नजमुल हसनले भने ।  

यसको अर्थ सकिबले अब टेस्ट, एकदिवसीय र टीट्वान्टी गरी तीनवटै ढाँचाको बंगलादेशी टोलीको नेतृत्व गर्नेछन् । यसअघि सन् २००९ देखि सन् २०११ सम्म पनि सकिब बंगलादेशको एकदिवसीय टोलीको कप्तान थिए । 

त्यतिबेला उनले ४९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको बंगलादेशी टोलीको कप्तानको भूमिका निर्वाह गरेका थिए । त्यसमध्ये २२ एकदिवसीय खेलमा बंगलादेशले जित हासिल गरेको थियो । यस्तो सफलता हात पार्ने उनी पहिलो बंगलादेशी कप्तान हुन् । 

त्यसपछि सन् २०१५ देखि सन् २०१७ सम्म पनि सकिबले एकदिवसीय टोलीमा कप्तानको भूमिका निर्वाह गरेका थिए । उनले हालसम्म १९ टेस्ट र ३९ वटा टीट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि कप्तानको भूमिका निर्वाह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप