आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

नक्कलीका नाममा सक्कली डाक्टर पक्राउ प्रकरणमा कसको दोष ?

मेडिकल काउन्सिलको पत्रलाई दोष दिँदै पन्छियो सीआईबी
सोमबार, २९ साउन २०८०, १५ : ३१
सोमबार, २९ साउन २०८०

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अभियान सञ्चालन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सक्कली चिकित्सकलाई नै पक्राउ गरेपछि चिकित्सा क्षेत्रमै एक प्रकारको भय सिर्जना भएको छ ।

विस्तृत अनुसन्धान र अध्ययन बिना नै पक्राउ गर्ने प्रवृत्ति देखिएको भन्दै चिकित्सकहरु त्रासमा रहेकै समयमा सीआईबीले भने मेडिकल काउन्सिलको पत्रकै कारण पक्राउ गरिएको र असली चिकित्सक रहेको पत्र आएपछि रिहा गरिएको प्रस्ट पारेको छ ।

प्रहरी प्रतिवेदन जाहेरीले प्रतिवादी रंजित कुमार यादव भएको लिखत सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा महोत्तरी जिल्लाको पिपरा–८ बस्ने विश्वनाथ यादवका छोरा वर्ष ३२ को रंजित कुमार यादवलाई

साउन २५ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका, लोकन्थलीबाट कानुन बमोजिम जरुरी पक्राउ पुर्जी दिई सीआईबीले पक्राउ गरेको थियो । साउन २६ गते काठमाडौं जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागु हुने गरी प्रथम पटक पाँच दिनको म्याद थप अनुमति प्राप्त भएपछि रंजितलाई ब्युरोको हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो ।

साउन २८ गते नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंको च नं १२३/२०८०/०८१ (प्र) पत्रद्वारा ‘यस काउन्सिलबाट मिति २०७८/०८/२८ गते थप कागज पत्र च नं ४०२/०७८/०७९ (प्र) मार्फत देवेन्द्र यादवका छोरा रंजित कुमार यादवको प्रमाण पत्रहरुको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रंजित कुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भूलवस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु’ भन्ने समेत व्यहोराको पत्र प्राप्त भएको सीआईबीले प्रस्ट पारेको छ ।

उक्त पत्र र प्रमाण कागजातहरु अनुसार सीआईबीले डा. रंजित कुमार यादव वास्तविक प्रतिवादी नभएको यकिन भएको भन्दै निजलाई प्रस्तुत कसुरको अनुसन्धानका लागि हिरासतमा राखी राख्न आवश्यक नदेखिएकाले साउन २८ गते नै जिम्मा जमानीमा छाडिएको जनाएको छ ।

सीआईबीले जनाए अनुसार देवेन्द्र यादवका छोरा रंजित कुमार यादवको विवरण माग गरिएकोमा मेडिकल काउन्सिलले विश्वनाथ यादवका छोरा रंजित कुमार यादवको विवरण पठाएका कारण निर्दोष व्यक्ति पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप