सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

सबैभन्दा लामो पेनाल्टी सुटआउटको नालिबेली

५४ वटा पेनाल्टी प्रहारपछि २५—२४ गोलले हार—जित भएको त्यो खेल !
मङ्गलबार, ३० साउन २०८०, ०९ : ४८
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । यतिबेला अस्ट्रेलियन र न्युजिल्यान्डमा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण चलिरहेको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेल सकिएको छ । शनिबारमात्र आयोजक अस्ट्रेलिया र फ्रान्सले अन्तिम क्वार्टरफाइनल खेल खेले ।

त्यो क्वार्टरफाइनल खेलले महिला विश्वकपमा एउटा गजबको इतिहास रच्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । अन्ततः पेनाल्टी सुटआउटमा अस्ट्रेलियाले फ्रान्सलाई ७—६ गोलले हरायो । त्यो क्वार्टरफाइनल खेल यति प्रतिस्पर्धात्मक थियो कि, हार—जितको निर्णय निकाल्न दुवै टोलीले १०—१० वटा पेनाल्टी प्रहार गर्नु परेको थियो । 

त्यसैको प्रतिफल हो, महिला विश्वकप फुटबलको इतिहासमा त्यो खेलले सर्वाधिक पेनाल्टी प्रहारको कीर्तिमान बनायो । त्यसअघि महिला विश्वकपको इतिहासमा एउटै खेलमा यति धेरै पेनाल्टी प्रहार भएको थिएन ।   

त्यसपछि सामान्य फुटबल प्रेमीको मनमा कौतूहल जाग्नु स्वाभाविक हो, आखिर फुटबलको एउटै खेलमा कतिवटासम्म पेनाल्टी प्रहार भएको छ त ? अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार, एउटै खेलमा ५४ वटा पेनाल्टी प्रहार भएको कीर्तिमान छ । 

0_PAY-2_Washington-FC-match-54-penalty-shoot-out

तर, त्यो निकै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता भने थिएन । उक्त खेल सन् २०२२ को मार्चमा इङ्ल्यान्डको उत्तर—पूर्वी सहरमा भएको थियो । त्यो खेल इङ्ल्यान्डको लिगमा नजोडिएका दुई क्लब वासिङ्टन र बेडलिङ्टनबीच खेलिएको थियो । 

‘अर्नेष्ट आर्मस्ट्रङ मेमोरियल कप’ अन्तर्गतको उक्त खेल हेर्न उल्लेख्य सङ्ख्यामा दर्शक पनि रंगशालामा उपस्थित थिए । निर्धारित समयको खेल ३—३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । 

पेनाल्टी सुटआउटमा पनि हार—जितको छिनोफानो हुन निकै लामो समय लाग्यो । दुवै टोलीले कूल ५४ वटा पेनाल्टी प्रहार गरे । त्यसपछि मात्र हार—जितको निर्णय भयो । उक्त खेलमा वासिङ्टनले बेडलिङ्टनलाई पेनाल्टी सुटआउटमा २५—२४ गोलले पराजित गर्‍यो । अनि त्यो खेलले सबैभन्दा लामो पेनाल्टी प्रहारको कीर्तिमान पनि बनायो । 

‘दी गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा भने सबैभन्दा लामो पेनाल्टी सुटआउटको कीर्तिमानका रूपमा सन् २००५ मा भएको खेललाई समावेश गरिएको छ । नामिबियन कप फुटबलअन्तर्गत उक्त खेल भएको थियो । 

निर्धारित समय २—२ गोलको बराबरीमा सकिएपछि उक्त खेलको हार—जितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा दुवै टोलीका खेलाडीले ४८ वटा पेनाल्टी प्रहार गरेका थिए । त्यो खेलमा के. के. प्यालेसले दी सिभिक्सलाई १७—१६ गोलले हराएको थियो । एउटै खेलाडीले तीनपटकसम्म पेनाल्टी प्रहार गरेका थिए । 

यसैगरी सन् २०२१ मा इङ्ल्यान्डका दुई तल्लो डिभिजनका क्लब ओल्ड उल्फुरियन्स र लेन हेडबीच खेल भएको थियो । त्यो खेलको हार—जितको निर्णय पनि पेनाल्टी सुटआउटबाट भएको थियो । त्यो खेलमा कुल ४४ वटा पेनाल्टी प्रहार भएको थियो । खेलमा ओल्ड उल्फुरियन्सले लेन हेडलाई १९—१८ गोलले हराएको थियो । 

त्यसअघि इङ्लिस फुटबलमा ३४ वटा पेनाल्टी सुटआउटको कीर्तिमान थियो । चेल्सीको यू—२३ र अक्सफोर्ड युनाइटेडबीचको खेलमा पेनाल्टी सुटआउटमा ३४ वटा प्रहार भएपछि हार—जितको टुङ्गो लागेको थियो । उक्त खेल इङ्लिस फुटबल लिगअन्तर्गत भएको थियो । साउदर्न लिग च्यालेन्ज कपअन्तर्गत भएको टाउनटन टाउन र ट्रुरो सिटीबीचको खेलमा पनि ३४ वटा पेनाल्टी प्रहार भएपछि हार—जितको टुङ्गो लागेको थियो ।

eng-vs-neth

यसैगरी सन् २००७ मा नेदरल्यान्ड्समा यू—२१ युरोपियन च्याम्पियनसिप आयोजना भएको थियो । त्यो प्रतियोगिताको नेदरल्यान्ड्स र इङ्ल्यान्डबीचको खेलमा हार—जितको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । उक्त खेलमा ३२ वटा पेनाल्टी प्रहार भएको थियो । अन्ततः खेलमा नेदरल्यान्ड्सले इङ्ल्यान्डलाई १३—१२ गोलले हराएको थियो ।

यसैगरी सन् २०१४ को डिसेम्बरमा एफए कपको छनोट चरणअन्तर्गत वर्सेस्टर सिटी र स्कनथोर्प क्लब तेस्रो चरणमा पुगेका थिए । उक्त खेलमा कुल ३२ वटा पेनाल्टी प्रहार भएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा स्कनथोर्प क्लबले वर्सेस्टर सिटीलाई १४—१३ गोलले हरायो । 

यसैगरी सन् २०१४ को सेप्टेम्बरमा क्यापिटल वन कपअन्तर्गत लिभरपुल र मिडल्सब्रोबीच खेल भएको थियो । निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउटमा दुवै टोलीबाट कुल ३० वटा प्रहार भए । अन्ततः त्यो खेलमा लिभरपुलले मिडल्सब्रोलाई १४—१३ गोलले हरायो । 

TELEMMGLPICT000259725256_trans_NvBQzQNjv4Bqlz5OdA_D3VmrC4drz6CMya9AwgQD4Npf3GkFJvgcOWM

यसदेखि बाहेक सन् २००८ र सन् २०१३ मा भएका क्लब स्तरीय खेलमा पनि ३०—३० वटा पेनाल्टी प्रहार भएका थिए । सन् २०२१ को मे २६ तारिखमा भएको युरोपा लिगको फाइनलमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११—१० गोलले हराएको थियो । उक्त खेलमा कुल २२ वटा पेनाल्टी प्रहार भएको थियो । 

यसैगरी सन् २०२२ को फेब्रुअरीमा भएको लिभरपुल र चेल्सीबीच इङ्लिस लिग कपको फाइनल खेल भएको थियो । उक्त खेलको निर्धारित र थप गरिएको समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । अनि पेनाल्टी सुटआउटमा लिभरपुलले चेल्सीलाई ११—१० गोलले हरायो । उक्त खेलमा कुल २२ वटा पेनाल्टी प्रहार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप