आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुधबारको खेलअघि मोहन बगानका प्रशिक्षक भन्छन्, ‘मच्छिन्द्र महत्त्वाकाङ्क्षी र आक्रामक प्रतिद्वन्द्वी हो’

मङ्गलबार, ३० साउन २०८०, ११ : ३२
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । एएफसी कप छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा बुधबार नेपालको मच्छिन्द्र फुटबल क्लबले भारतको इन्डियन सुपर लिग क्लब मोहन बगानसँग भिडन्त गर्दैछ । उक्त खेल भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा खेलिने छ । 

मच्छिन्द्र क्लब एएफसी कप छनोट प्रतियोगिताको प्रारम्भिक चरणको खेलमा भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबलाई ३-२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको हो । मच्छिन्द्र र पारोबीचको खेल अघिल्लो मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको थियो । 

उक्त खेलको प्रारम्भमै गोल खाए पनि मच्छिन्द्रले उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेको थियो । मच्छिन्द्रको जितमा विमल घर्तीमगर, आयुष घलान र आफिज ओलाडिपोले एक-एक गोल गरेका थिए । 

उक्त खेलमा पहिलो र अन्तिम गोल भुटानी क्लब पारोले गरेको थियो । खेल सुरु भएको सातौँ मिनेटमै पारोका लागि काजुओ होम्माले पहिलो गोल गरेका थिए । खेलको अन्तिम गोल पनि ७१औँ मिनेटमा पारोका इभान अशान्तेले गरेका थिए ।
 
मच्छिन्द्र नेपालको ‘ए’ डिभिजन लिगको उपविजेता क्लब हो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि भने चर्च ब्वाइज क्लबले जितेको थियो । तर, चर्च ब्वाइज क्लबसँग एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप खेल्ने अवसर पाएको हो ।

मोहन बगान भने भारतको सुपर लिग च्याम्पियन क्लब हो । त्यसैले मच्छिन्द्रका लागि पारोको तुलनामा मोहन बगान निकै बलियो प्रतिद्वन्द्वी हो । मोहन बगानसँग खेल्न विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्र क्लब कोलकाता पुगिसकेको छ ।  

मच्छिन्द्र र मोहन बगानबीचको खेलमा विजयी हुने टोलीले प्लेअफमा स्थान बनाउने छ । उक्त खेलमा विजयी हुने टोलीले बंगलादेशको ढाका अव्हानी र माल्दिभ्सको इगल्सबीचको खेलको विजेतासँग अगस्ट २२ तारिखमा प्लेअफ खेल्ने छ । उक्त खेलको विजेताले भने साउथ जोनबाट एएफसी कपको समूहगत चरणमा स्थान बनाउने छ । 

मछिन्द्रले गत वर्ष पनि एएफसी कप छनोट प्रतियोगिताको प्रारम्भिक चरणको खेल खेलेको थियो । त्यतिबेला मच्छिन्द्र क्लब श्रीलंकाली क्लब ब्लु स्टारसँग पराजित भएको थियो । यसपटक मच्छिन्द्रले आशिष चौधरी, एरिक विष्ट, आयुष घलान, लकेन लिम्बु, सनिष श्रेष्ठ, रेजिन सुब्बा, रोहित सुब्बालगायतका खेलाडीलाई क्लबमा आबद्ध गरेको छ । 

मोहन बगानले गत आइतबार आफ्नो पछिल्लो खेल खेलेको थियो । डुरान्ड कपअन्तर्गत मोहन बगान र इस्ट बंगालबीच ‘डर्बी’ भिडन्त भएको थियो । उक्त खेलमा इस्ट बंगालले मोहन बगानलाई १-० गोलले हराएको थियो । त्यसैले पनि मच्छिन्द्रविरुद्घको खेलअघि मोहन बगान केही दबाबमा छ । 

मोहन बगानका प्रमुख प्रशिक्षक हुवाँ फेरान्डो पनि आफूहरूले मन्छिन्द्रलाई कमजोर प्रतिद्वन्द्वीको रूपमा नलिएको बताउँछन् । ‘ मच्छिन्द्रले पहिलो खेलमा भुटानी लिग च्याम्पियन पारोलाई हराएर आफ्नो क्षमताको परिचय दिइसकेको छ । त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्लब कुनै पनि हालतमा कमजोर हुँदैनन् । त्यसैले हामीले मच्छिन्द्रलाई बलियो प्रतिद्वन्द्वीका रूपमा लिएका छौँ,’ मोहन बगानका स्पेनिस प्रशिक्षक फेरान्डोले सोमबार स्थानीय सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन् । 

367514618_828142118820597_5673322989192483929_n

प्रशिक्षक फेरान्डोले मच्छिन्द्रलाई आक्रामक र महत्त्वाकाङ्क्षी क्लबको संज्ञा दिएका छन् । ‘हामीलाई मच्छिन्द्रको खेलको बारेमा राम्रो जानकारी छ । मच्छिन्द्रलाई आक्रामक र महत्त्वाकाङ्क्षी क्लब भन्दा उपयुक्त हुन्छ । त्यसैले मच्छिन्द्रविरुद्घको खेलअघि हामी निकै सचेत छौँ । मेरो विचारमा बुधबारको खेल निकै रोमाञ्चक हुनेछ,’ उनी भन्छन् । 

मोहन बगानका मालिक हुन्, सञ्जिव गोयन्का । उनी हरेक खेल र हरेक प्रतियोगितामा आफ्नो क्लबले सफलता हात पार्नु पर्ने लक्ष्य राख्छन् । प्रमुख प्रशिक्षक फेरान्डो पनि आफूहरु हरेक खेलमा क्लबका मालिकको उद्देश्य अनुरुप नै अगाडि बढ्ने बताउँछन् । यसको अर्थ, प्रशिक्षक फेरान्डो घुमाउरो तरिकाले भन्न चाहन्छन्, ‘बुधबार साल्ट लेक रंगशालामा हाम्रो टोली कुनै पनि हालतमा मच्छिन्द्रलाई हराउने लक्ष्यसहित मैदानमा ओर्लने छ ।’ उनी मच्छिन्द्रविरुद्घको खेलमा निर्धारित ९० मिनेटभित्र नै स्पष्ट नतिजा निकाल्ने तयारीमा आफूहरु रहेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप