सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

निजी जेट विमानका मालिक फुटबलर : मेस्सी, नेयमार, रोनाल्डिन्होदेखि रोनाल्डोसम्म

बुधबार, ३१ साउन २०८०, १० : ११
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । विश्व चर्चित फुटबल खेलाडीहरुको जीवनशैली निकै व्यस्त हुन्छ । उनीहरुको अधिकांश समय खेल मैदानमै बित्छ । नियमित अभ्यास, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब, आफूसम्बद्ध क्लबलाई सफलताको शिखरमा पुयाउने लालसा अनि, राष्ट्रिय टोलीप्रतिको जिम्मेवारीजस्ता कारणले फुटबल खेलाडीको जीवनलाई निकै व्यस्त बनाउँछ ।

यस्तै चटारो र तनावबीच फुटबल खेलाडीले आफ्नो व्यावसायिक कामको सिलसिलामा छोटो समयमै विभिन्न स्थानको भ्रमण पनि गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त उनीहरुले आफ्नो परिवार र मित्रहरुका लागि पनि समय छुट्याउनु पर्ने हुन्छ । 

विश्वका प्रभावशाली फुटबल खेलाडीहरु सातामै लाखौँ डलर कमाउँछन् । उनीहरुको जीवनशैली पनि भव्य र लोभलाग्दो पनि हुन्छ । त्यसैले कतिपय विश्व चर्चित फुटबलरले आफ्नो सहजताका लागि यातायातका विभिन्न साधनमा ठूलो धनराशी खर्चिएका हुन्छन् ।

विश्व फुटबलका केही हस्तीसँग त आफ्नो निजी विमानसमेत रहेको छ । तर, सबै फुटबल खेलाडीले निजी विमान खरिद गर्ने हैसियत राख्दैनन् । यहाँ चर्चा गर्न खोजिएको विषय पनि निजी विमान राख्ने फुटबल खेलाडीहरुकै बारेमा हो । 

रोनाल्डिन्हो (ब्राजिल)

रोनाल्डिन्हो ब्राजिलका चर्चित फुटबलर हुन् । सन् १९९९ देखि सन् २०१३ सम्म उनले ब्राजिलको राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे । विश्वका भलादमी र महान् फुटबलरहरुको सूचीमा ४३ वर्षीय रोनाल्डिन्होको नाम अग्रस्थानमा आउँछ । 

आफ्नो सक्रिय खेलजीवनमा उनले ब्राजिलका लागि ९७ खेल खेल्दै ३३ गोल गरेका छन् । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी), स्पेनको बार्सिलोना, इटालीको एसी मिलानजस्ता चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका छन् । 

कुनै समय उनी विश्वकै महँगा खेलाडीमा पर्थे । निजी विमान राख्ने फुटबलरहरुको सूचीमा रोनाल्डिन्होको पनि नाम आउँछ । उनीसँग एम्ब्रेयर फेनोम १०० विमान रहेको छ । आफ्नो निजी विमानमा उनी परिवारका सदस्य र साथीहरुसँग यात्रा गर्छन् । 

screenshot_2022-06-26-16-54-21-1-20220626050517

रोनाल्डिन्होको जेट विमानको मूल्य २६ लाख ब्रिटिस पाउण्ड पर्छ । उनको जेट विमानले चार सय ६६ माइल प्रतिघन्टाको गतिमा लगातार एक हजार तीन सय ५५ माइलसम्म उडान भर्न सक्छ । उनको जेट विमानमा अधिकतम सातजना यात्रुले यात्रा गर्न सक्छन् ।

फुटबलर प्याट्रिको रुबियो रोनाल्डिन्होका असल मित्र हुन् । प्याट्रिकोका अनुसार, २००२ को विश्वकपपछि त्यही जेटमा बसेर उनीहरुले रमाइलो गरेका थिए । प्याट्रिको भन्छन्, ‘रोनाल्डिन्हो फुर्सद हुनासाथ त्यही विमानमा साथीहरुसँग रमाइलो गर्न निस्कन्छन् ।’

काका (ब्राजिल) 

काका पनि ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनले सन् २००२ देखि सन् २०१६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्दै थुप्रै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । ४१ वर्षीय काका आफ्नो समयका प्रभावशाली आक्रामक मिडफिल्डर हुन् । 

ब्राजिलले सन् २००२ मा विश्वकपको उपाधि जित्दा पनि उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनी सन् २००६ को विश्वकपमा पनि ब्राजिलियन टोलीका सदस्य थिए । उनले ब्राजिलियन टोलीबाट रोनाल्डो, एड्रिनो र रोनाल्डिन्होसँग फुटबल खेलेका थिए । 

Kaká

काकाले ब्राजिलको तर्फबाट सन् २०१० को विश्वकप पनि खेलेका थिए । त्यौ नै उनको अन्तिम विश्वकप थियो । ब्राजिलले सन् २००५ र सन् २००९ मा फिफा कन्फिड्रेसन कपको उपाधि जित्दा पनि उनी ब्राजिलियन टोलीका प्रभावशाली सदस्य थिए । 

उनले आफ्नो व्यावसायिक खेलजीवनको अधिकांश समय इटालियन क्लब एसी मिलान र स्पेनिस क्लब रियल मड्रिडमा बिताएका थिए । काका पनि निजी जेट विमान राख्ने फुटबलरमा पर्छन् । उनीसँग सेसना सिटासन सीजे ३ प्लस जेट विमान छ । 

उक्त विमानमा नौजना यात्रुले यात्रा गर्न सक्छन् । उनको जेट विमानले चार सय ७८ माइल प्रतिघन्टाको गतिमा निरन्तर दुई हजार ४० नटिकल माइलसम्म उडान भर्न सक्छ । आपतकालीन अवस्थाका लागि काकाको जेट विमानमा ‘अटोपाइलट’ प्रविधि पनि जडान गरिएको छ । उनको विमानको मूल्य ५७ लाख पाउण्ड पर्छ । 

गारेथ बेल (वेल्स)

वेल्सका प्रभावशाली फुटबलर हुन्, गारेथ बेल । उनले सन् २००६ देखि सन् २०२२ सम्म वेल्सको राष्ट्रिय टोलीबाट खेलेका थिए । सन् २००६ को मेमा वेल्सको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्दा उनी सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । 

बेलले वेल्सका लागि एक सय ११ खेल खेल्दै ४१ गोल गरेका छन् । ३४ वर्षीय बेल वेल्सका लागि सबैभन्दा बढी खेल खेल्ने र सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । वेल्सलाई सन् २०१६ को युरो कपमा छनोट गराउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

उनले ६ पटक वेल्सको सर्वोत्कृष्ट फुटबल खेलाडीको पुरस्कार पाएका छन् । उनले इङ्ल्यान्डको साउथह्याम्पटन, टोट्टनहाम र स्पेनको रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले अमेरिकी क्लब लस एन्जल्सबाट पनि फुटबल खेलेका थिए । 

Gareth Bale

बेल पनि जेट विमानका मालिक हुन् । खेलजीवनको पछिल्लो समय घाइते हुने समस्याबाट पीडित भएका बेल आफ्नो कुनै पनि इच्छालाई दबाउन चाहँदैनन् । उनी भ्रमणमा पनि निकै रुचि राख्छन् । उनीसँग सेसना सिटासन एक्सएल प्लस जेट विमान रहेको छ ।  

फुटबल मैदानमा लामो दूरीको प्रहार र उत्कृष्ट फ्रिकिक प्रहारका लागि चर्चित बेलको जेट विमानले पाँच सय सात माइल प्रतिघन्टाको गतिमा निरन्तर दुई हजार एक सय नटिकल माइलसम्म उडान भर्न सक्छ । उनको विमानको मूल्य ८६ लाख पाउण्ड पर्छ । उनको विमानमा १२ जना यात्रुले यात्रा गर्न सक्छन् ।

नेयमार जुनियर (ब्राजिल)

समकालीन विश्व फुटबलका प्रभावशाली खेलाडीहरुको सूचीमा पर्छन्, नेयमार जुनियर । उनी ब्राजिलियन राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । ३१ वर्षीय स्ट्राइकर नेयमार विश्व फुटबलको सबैभन्दा महँगा खेलाडीहरुको सूचीमा पनि पर्छन् । 

Neymar

नेयमार जुनियरले सन् २०१० मा ब्राजिलको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनी ब्राजिलियन राष्ट्रिय टोलीका कप्तान पनि हुन् । उनले केवल १८ वर्षको उमेरमा ब्राजिलको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।

उनी अहिले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्न साउदी प्रोलिग क्लब अल–हिलाल पुगेका छन् । उनी आकर्षक पारिश्रमिक पाउने खेलाडीहरुको सूचिमा पर्छन् ।   

पीएसजीमा आबद्ध हुनुअघि उनी स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्थे । बार्सिलोनाको थुप्रै महत्त्वपूर्ण सफलतामा उनको महत्त्वपूर्ण योगदान छ । यी प्रभावशाली ब्राजिलियन खेलाडी पनि जेट विमानका मालिक हुन् । नेयमारसँग एम्ब्रायर लिगेसी ४५० जेट विमान रहेको छ । 

उनी त्यही विमानमा आफ्नो परिवारका सदस्य र साथीहरुसँग रमाइलो गर्छन् । जन्म दिनको पार्टी पनि उनी त्यही विमानमा गर्छन् । उनको विमानले पाँच सय ३१ माइल प्रतिघन्टाको गतिमा निरन्तर दुई हजार नौ सय नटिकल माइल उडान भर्न सक्छ । उनको विमानको मूल्य एक करोड आठ लाख पाउण्ड पर्छ ।

वेन रुनी (इङ्ल्यान्ड) 

आफ्नो समयमा प्रभावशाली खेलाडी हुन्, वेन रुनी । उनी इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्य थिए । सन् २००३ देखि सन् २०१८ सम्म उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीलाई महत्त्वपूर्ण सफलता दिलाएका थिए । 

रुनीले केवल १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनी इङ्ल्यान्डका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् । यी चर्चित स्ट्राइकरले सन् २००४ को यूईएफए युरो कपमा इङ्ल्यान्डका लागि चार गोल गरेका थिए । 

Wayne Rooney

उनी युरोपियन च्याम्पियनसिपको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् । ३७ वर्षीय रुनीले सन् २००६, सन् २०१० र सन् २०१४ को विश्वकप पनि खेलेका थिए । इङ्ल्यान्डका उत्कृष्ट फुटबलरमध्ये रुनीको नाम पनि अग्रस्थानमा आउँछ । 

इङ्लिस क्लब एभर्टनको सिनियर टोलीबाट व्यावसायिक खेलजीवन सुरु गरेका रुनीले म्यानचेस्टर युनाइटेडबाट लामो समय खेलेका थिए । आफ्नो व्यावसायिक खेलजीवनको अन्त्यतिर उनले डर्बी काउन्टीबाट खेलेका थिए । 

रुनी पनि निजी विमान राख्ने फुटबलरमा पर्छन् । उनले डासाउल्ट फाल्कोन ९०० एक्सएल विमान जेट विमान खरिद गरेका छन् । उनको जेट विमानको मूल्य एक करोड ४० लाख पाउण्ड पर्छ । उक्त विमान ६६ फिट लामो र २४ फिट अग्लो छ । उनको विमान विश्वमै सबैभन्दा कम ऊर्जा खपत गर्ने विमानमा पर्छ । उक्त विमानमा तीनवटा इन्जिन रहेको छ । 

पाउल पोग्बा (फ्रान्स) 

पाउल पोग्बा चर्चित फ्रान्सेली मिडफिल्डर हुन् । उनले सन् २०१३ मा फ्रान्सको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । पोग्बाले फ्रान्सको उमेर समूहको टोलीबाट पनि थुप्रै प्रतियोगिता खेलेका छन् । फ्रान्सले उनकै कप्तानीमा सन् २०१३ मा यू—२० विश्वकपको उपाधि चुमेको थियो ।

त्यो प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । उनले फ्रान्सको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेलगत्तै सन् २०१४ को फिफा विश्वकप खेलेका थिए । उक्त विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट युवा खेलाडीको पुरस्कार पाएका थिए ।

Paul Pogba

उनले सन् २०१६ को युरो कपमा पनि राष्ट्रको प्रतिनिधित्व गरेका थिए । त्यसयता उनी लगातार राष्ट्रिय टोलीको सदस्य रहँदै आएका छन् । त्यो प्रतियोगितामा फ्रान्स उपविजेता बनेको थियो । फ्रान्सले सन् २०१८ को विश्वकप जित्दा पनि उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । विश्वकपको फाइनलमा उनले गोल पनि गरेका थिए । 

३० वर्षीय पोग्बाले आफ्नो व्यावसायिक खेलजीवनको अधिकांश समय म्यानचेस्टर युनाइटेड र युभेन्ट्समा बिताएका छन् । उनी हाल इटालियन क्लब युभेन्ट्सबाट खेल्छन् । यी चर्चित फ्रान्सेली खेलाडी पनि निजी जेट विमानका मालिक हुन् । उनीसँग गल्फस्ट्रिम जी २८० जेट विमान छ ।

उनको विमानको मूल्य एक करोड ८० लाख पाउण्ड पर्छ । उनको जेट विमानले पाँच सय ५९ माइल प्रतिघन्टाको गतिमा निरन्तर तीन हजार ६ सय नटिकल माइल उडान भर्न सक्छ । उक्त जेट विमानमा १० जना यात्रुले यात्रा गर्न सक्छन् । 

डेभिड बेकह्याम (इङ्ल्यान्ड) 

आफ्नो समयमा प्रभावशाली र स्टाइलिस खेलाडी हुन्, डेभिड बेकह्याम । उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीलाई लामो समयसम्म महत्त्वपूर्ण योगदान पु¥याएका थिए । उनी सन् १९९६ देखि सन् २००९ सम्म राष्ट्रिय टोलीका सदस्य थिए । 

उनले २१ वर्षको उमेरमा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले ६ वर्षसम्म इङ्ल्यान्डको राष्ट्रिय टोलीमा कप्तानको भूमिका पनि निर्वाह गरे । इङ्ल्यान्डका लागि उनले एक सय १५ खेल खेलेका छन् । उनले सन् १९९८, सन् २००२ र सन् २००६ को विश्वकप पनि खेलेका थिए । 

यसका अतिरिक्त सन् २००० र सन् २००४ को युरोपियन च्याम्पियनसिपमा पनि उनी राष्ट्रिय टोलीका प्रभावशाली सदस्य थिए । खासगरी फ्रिकिक प्रहार गर्ने विशेष शैलीका कारण पनि उनी विश्व फुटबलमा निकै चर्चित थिए । 

David Beckham

चर्चित अन्तर्राष्ट्रिय ब्यान्ड ‘स्पाइस गर्ल’ की प्रमुख सदस्य भिक्टोरिया वेकह्याम उनकी श्रीमती हुन् । विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडीहरुको सूचिमा उनको नाम पनि आउँछ । बेकह्यामले म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी, एसी मिलान, पेरिस सेन्ट जर्मनजस्ता चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी हाल अमेरिकी क्लब इन्टर मियामीका मालिक हुन् ।

बेकह्याम पनि जेट विमानका मालिक हुन् । ४८ वर्षीय बेकह्यामसँग अत्याधुनिक बम्बार्डियर च्यालेन्जर ३५० जेट विमान रहेको छ । उनको जेट विमानको मूल्य एक करोड ९० लाख पाउण्ड पर्छ । उनको विमानले पाँच सय २८ माइल प्रतिघन्टाको गतिमा निरन्तर तीन हजार दुई सय नटिकल माइलसम्म उडान भर्न सक्छ । 

ज्लाटन इब्राहिमोभिच (स्विडेन) 

स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच विश्व फुटबलमा फरक विशेषता बोकेका खेलाडी हुन् । उनको खेल कौशल जति उत्कृष्ट छ, खेल मैदानमा साथीहरुसँग ठट्टा गर्ने शैली पनि उत्तिकै रमाइलो हुन्छ । आफ्नो उटपट्याङ व्यवहारकै कारण बेलाबखत उनी आलोचित पनि हुने गर्छन् । 

उनी सन् २००१ देखि सन् २०२३ सम्म स्विडेनको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य थिए । पक्कै पनि लगातार २२ वर्ष राष्ट्रिय टोलीबाट खेल्नु र उत्कृष्ट प्रदर्शन गर्नु सामान्य विषय होइन । यसले पनि ४१ वर्षीय यी स्विडिस स्ट्राइकरको क्षमता देखाउँछ । 

Zlatan Ibrahimović

उनी स्विडेनको राष्ट्रिय टोलीबाट एक सयभन्दा बढी खेल खेल्ने ११ खेलाडीमध्ये पर्छन् । उनी फुटबल मैदानमा एक्रोबेटिक प्रहारका लागि निकै चर्चित छन् । उनी देशका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले स्विडेनका लागि ६२ गोल गरेका छन् । 

सन् २००२ र सन् २००६ को विश्वकपमा पनि उनले स्विडेनको प्रतिनिधित्व गरेका थिए । सन् २००४ देखि सन् २०१६ सम्म युरोपियन च्याम्पियनसिप खेल्ने स्विडिस टोलीको महत्त्वपूर्ण सदस्य पनि हुन् इब्राहिमोभिच । उनी कीर्तिमानी रुपमा १२ पटक स्विडेनको सर्वोत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । 

इब्राहिमोभिचले युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पेरिस सेन्ट जर्मन, म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सीलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका छन् । उनी पनि निजी जेट विमानको मालिक हुन् । उनीसँग सेसना सिटासन लङ्गिच्यूट जेट प्लेन रहेको छ । यो ठूलो जेट विमान हो ।

यो विमानको पखेटाको लम्बाई मात्र ६५ फिट छ । यो विमान सन् २०१७ मा बजारमा आएको हो । यो जेट विमानको मूल्य दुई करोड ४५ लाख ८० हजार ब्रिटिस पाउण्ड पर्छ । १२ यात्रु क्षमताको यो जेट विमानले निरन्तर ६ हजार चार सय ८२ किलोमिटरसम्म उडान भर्न सक्छ ।

लियोनल मेस्सी (अर्जेन्टिना) 

समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी । ३६ वर्षीय यी सर्वकालीन महान खेलाडीलाई चिनाउन कुनै विशेषणको आवश्यक्ता पर्दैन । उनी अर्जेन्टिनी टोलीका कप्तानमात्र होइन, मेरुदण्ड पनि हुन् । 

एउटा खेलाडीको रुपमा विश्व फुटबलमा हासिल गर्नुपर्ने सबै उपलब्धि उनले प्राप्त गरिसकेका छन् । उनले विश्व फुटबलमा प्राप्त गर्न एउटा मात्र उपलब्धि बाँकी थियो, विश्वकप उपाधि जित्ने । तर, उनले कतार विश्वकपमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप चुमाएर त्यो उपलब्धि पनि हासिल गरेरै छाडे । 

fe7763e38d38dba43400671dcd37d229

फुटबल मैदानमा जादु देखाउने यी स्ट्राइकर हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । विभिन्न उमेरसमूहको प्रतियोगिता खेल्दै उनले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । 

मेस्सी सर्वाधिक सात पटक बालोन डी’ओर अवार्ड जित्ने खेलाडी पनि हुन् । उनी अर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । देशका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन्, मेस्सी । 

उनी विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडीमा पर्छन् । उनको व्यावसायिक खेलजीवनको अधिकांश समय स्पेनिस क्लब बार्सिलोनामा बितेको छ । बार्सिलोनाको जुनियर टोली हुँदै उनले सन् २००४ मा सिनियर टोलीमा स्थान बनाएका थिए । त्यसपछि उनी लगातार सन् २०२१ सम्म बार्सिलोनामै रहे । त्यसपछि उनी पेरिस सेन्ट जर्मन हुँदै अहिले अमेरिकी क्लब इन्टर मियामीमा पुगेका हुन् । उनी आबद्ध भएयता इन्टर मियामीले एक खेल पनि हारेको छैन ।

विश्व फुटबलका यी महान खेलाडीसँग निजी जेट विमान नहुने करै भएन । उनी विश्वकै धनी खेलाडीमा पर्छन् । मेस्सीसँग एम्ब्रायर लिगेसी ६५० पी जेट विमान रहेको छ । त्यो विमानको लम्बाई ८६ फिटभन्दा बढी छ । उक्त जेट विमानमा दुईवटा शक्तिसाली रोल्स रायस एई ३००७ ए २ इन्जिन जडान गरिएको छ । त्यो विमानको मूल्य दुई करोड ५० लाख पाउण्ड पर्छ । त्यो विमानले पाँच सय २८ माइल प्रतिघन्टाको गतिमा उडान भर्न सक्छ ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) 

समकालीन विश्व फुटबलका अर्का महान खेलाडी हुन्, क्रिस्टियोनो रोनाल्डो । पोर्चुगलका यी स्टार खेलाडीले पनि फुटबल मैदानमा हासिल गर्नुपर्ने अधिकांश उपलब्धि हात पारिसकेका छन् । तर, उनले हालसम्म आफ्नो राष्ट्रलाई विश्वकपको उपाधि भने चुमाउन सकेका छैनन् । 

पोर्चुगलका कप्तान रोनाल्डो अहिले पनि आफ्नो राष्ट्रलाई विश्व कपको उपाधि चुमाउने आफ्नो सपना पूरा गर्न चाहन्छन् । तर, उनले आफ्नो राष्ट्रलाई युरो कपको स्वाद भने चखाइसकेका छन् । उनी पनि विश्व फुटबलको सर्वकालीन महान खेलाडीको सूचिमा पर्छन् । 

रोनाल्डोले सन् २००३ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्दा उनको उमेर केवल १८ वर्ष थियो । हालसम्म उनले पोर्चुगलका लागि दुई सय खेल खेलिसकेका छन् । उनी देशका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।

यसका अतिरिक्त सर्वाधिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीका रुपमा पनि उनको नाम दर्ता छ । पोर्चुगलका लागि उनले हालसम्म एक सयभन्दा बढी गोल गरिसकेका छन् । उनी देशका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । 

16569584160459

रोनाल्डो विश्व खेलकुदको इतिहासमा एक अर्ब रुपैयाँ कमाई गर्ने पहिलो फुटबलर हुन् । उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सबाट लामो समय व्यावसायिक फुटबल खेले । पछिल्लो समय उनी पुनः म्यानचेस्टर युनाइटेड हुँदै साउदी अरेबियाको लिग खेल्न कीर्तिमानी रकममा अल नासर क्लबमा आबद्ध भएका छन् । 

निजी जेट विमानको मामलामा ३८ वर्षीय रोनाल्डो अन्य फुटबलरभन्दा बढी नै चर्चित छन् । उनीसँग दुईवटा निजी जेट विमान रहेका छन् । केही समयअघि मात्र उनले दोस्रो जेट विमान किनेका हुन् । उनको दोस्रो जेट विमान गल्फस्ट्रिम जी ६५० हो । ठूलो र अत्याधुनिक त्यो विमानको मूल्य दुई करोड ८० लाख ब्रिटिस पाउण्ड पर्छ । त्यो विमान विश्वकै महँगो जेट विमानमा पर्छ ।

NINTCHDBPICT000421395255

उक्त विमानमा दुईवटा रोल्स रोयस बीआर ७२५ ए १—१२ इन्जिन जडान गरिएको छ । त्यो जेट विमानले ६ सय १० माइल प्रतिघन्टाको गतिमा उडान भर्न सक्छ । त्यो विमानको लम्बाई करिब एक सय फिट रहेको छ । विमानमा १९ यात्रुले यात्रा गर्न सक्छन् । 

यसका अतिरिक्त पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोसँग गल्फस्ट्रिम जी २०० जेट विमान पनि रहेको छ । उनी यो विमान बिक्री गर्ने तयारीमा छन् । त्यो विमान फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले खरिद गर्न चासो देखाएको पनि समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप