सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं महिला विश्वकप : इङ्ल्यान्ड र स्पेनबीच उपाधि भिडन्त

बुधबार, ३१ साउन २०८०, १८ : ०१
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र स्पेनबीच भिडन्त हुने भएको छ । इङ्ल्यान्ड बुधबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा आयोजक अस्ट्रेलियालाई ३—१ गोलले हराउँदै फाइनलमा पुगेको हो । इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । 

स्पेनले भने मंगलबार खेलिएको पहिलो सेमिफाइनल खेलमा स्विडेनलाई २—१ गोलले हराएको थियो । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार खेलिने छ । त्यसअघि शनिबार अस्ट्रेलिया र स्विडेनबीच तेस्रो स्थानका लागि खेल हुनेछ । 

अस्ट्रेलियाविरुद्दको खेलमा इङ्ल्यान्डले नै सुरुआती अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा इङ्ल्यान्डका लागि एला टुनले पहिलो गोल गरेकी थिइन् । सोही गोलका कारण पहिलो हाफमा इङ्ल्यान्ड अगाडि रह्यो । 

निर्धारित समयको ६३ औं मिनेटमा अस्ट्रेलियाका लागि साम केरले जवाफी गोल गरेपछि खेल १—१ को बराबरीमा पुगेको थियो । खेलको ७१औं मिनेटमा लाउरेन हेम्पले गोल गर्दै इङ्ल्यान्डलाई २—१ ले अगाडि बढाएकी थिइन् । 

निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि इङ्ल्यान्डका लागि एलेसिया रुसोले तेस्रो गोल थपेकी थिइन् । फाइनलमा पुगेका स्पेन र इङ्ल्यान्ड दुबैले हालसम्म महिला विश्व कपको उपाधि जित्न सकेका छैनन् । त्यसैले महिला विश्व कपको नवौं संस्करणले नयाँ विजेता पाउने पक्का छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप