सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इमरान खानलाई हटाएर भिडियो सार्वजनिक भएपछि पूर्वखेलाडीद्वारा पीसीबीको चर्को आलोचना

बिहीबार, ३२ साउन २०८०, १२ : ११
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशलाई लिएर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को चर्को आलोचना सुरु भएको छ । पूर्वखेलाडीहरुले नै पीसीबीको आलोचना गरेका छन् । 

पीसीबीले पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा अगस्त १४ तारिखका दिन एउटा भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियोमा पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेका उपलब्धि र देशका प्रभावशाली क्रिकेटरहरुको विषयमा उल्लेख गरिएको छ । 

तर, त्यो भिडियोमा आफ्नो समयमा चर्चित खेलाडी इमरान खानलाई भने समावेश गरिएको छैन । जबकी पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो सफलता दिलाउने खेलाडी नै इमरान खान हुन् । इमरान खानकै कप्तानीमा पाकिस्तानले सन् १९९२ मा एकदिवसीय विश्व कपको उपाधि जितेको थियो । पाकिस्तानले जितेको त्यो एकमात्र एकदिवसीय विश्व कप हो । 

पीसीबीले सार्वजनिक गरेको भिडियोमा सन् १९५२ देखि पाकिस्तानी क्रिकेटसँग जोडिएका महत्वपूणर् क्षणहरुलाई समावेश गरिएको छ । पाकिस्तानले सन् १९५२ मै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । 

पाकिस्तानी क्रिकेट टोलीका पूर्वखेलाडी वसिम अकरमले पनि पीसीबीको चर्को आलोचना गरेका छन् । ‘पीसीबीले सार्वजनिक गरेको भिडियोले म स्तब्धः बनेको छु । यो मेरो जीवनको सबैभन्दा निराशाजनक क्षण हो,’ अकरमले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् । 
 
उनले उक्त भिडियोबाट इमरान खानको फुटेज हटाइएकोमा पीसीबीले तत्काल माफी माग्नुपर्ने धारणा पनि उनले ब्यक्त गरेका छन् । ‘जे भइरहेको छ त्यो गलत हो । पीसीबीले यस विषयमा तत्काल माफी माग्नु पर्छ र आफ्नो गल्ति सच्याउनु पर्छ,’ अकरमले भनेका छन् । 

पूर्वक्रिकेटरसँगै इमरान खान राजनीतिज्ञ पनि हुन् । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री पनि हुन् । वर्तमान सरकारले इमरान खानमाथि विभिन्न आरोप लगाउँदै छानबिन गरिरहेको छ । अधिकांश क्रिकेटरले पीसीबी पनि सरकारको पक्षमा लागेर राजनीतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् । 

‘जब म लामो यात्रा तय गरेर श्रीलंका पुगेँ त्यसपछि मैले पीसीबीको त्यो भिडियो हेरेँ । त्यो भिडियोले मलाई स्तब्धः बनाएको छ । त्यो भिडियोमा महान इमरान खानको सबैभन्दा बढी चर्चा हुनुपथ्र्यो । तर, इमरान खान भएको सबै फुटेज डिलिट गरिएको छ । पाकिस्तानी क्रिकेटमा इमरान खानको उपलब्धिलाई कसैले चाहेर पनि मार्न सक्दैन । यसका लागि पीसीबीले माफी माग्नु पर्छ,’ आफ्नो समयका चर्चित खेलाडी अकरमले भनेका छन् । 

पाकिस्तानी महिला क्रिकेट टोलीकी पूर्वकप्तान उरुज मुमताजले भिडियोमा इमरान खानलाई नसमेटिएकोमा पीसीबीको आलोचना गरेकी छन् । मुमताजले पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो सफलता दिलाउने खेलाडीलाई पीसीबीको भिडियोमा नसमेटिनु दुःखद भएको बताएकी छन् । ‘पाकिस्तानलाई सन् १९९२ को विश्वकप जिताउने कप्तानको भिडियो नहुनु दुःखद हो,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले ट्वीट गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप