आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेघाको नेतृत्वमा लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर

बिहीबार, ३२ साउन २०८०, १९ : ४५
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । विगत तीन दशकदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ ।

बुधवार सम्पन्न वार्षिक साधारण सभाले साहित्यकार वसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

आगामी चार वर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन् ।

यस्तै, कार्यसमिति सदस्यहरुमा डा. उषा ठाकुर, नारायणभक्त श्रेष्ठ (रायन), राजेन्द्र शलभ चयन भएका छन् ।

नेपालको अग्रणी र सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा वसन्त चौधरी रहेका छन् । उनी यसअघि लामो समयसम्म कार्यसमिति अध्यक्षको जिम्मेवारीमा थिए । 

बुधबार सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा वसन्त चौधरीले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टाहरुलाई सम्मान गरेको स्मरण गरे ।

सो अवसरमा उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र बिस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कारसमेत स्थापना गरिने घोषणा गरे ।

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नेपाली साहित्यकला र संगीतको उन्नयन तथा विश्वस्तरमा नेपाली कलासाहित्य र भाषाको प्रवद्र्धनका लागि साहित्यकला मन्दिरले विशिष्ट योगदान पुर्याएको बताए ।

साधारण सभामा साहित्यकला मन्दिरको नाम परिवर्तन गरी वृहत् उद्देश्यसहित अगाडि बढ्ने अजेण्डा पारित भएको छ । यसका लागि विधान संशोधनको प्रस्तावसमेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघा चौधरीले जानकारी दिइन् ।

साधारणसभाबाट रमण घिमिरेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप