मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेन : वनमन्त्री महतो

शुक्रबार, ०१ भदौ २०८०, १८ : ०४
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी तवरबाट काम गर्न नसकेको बताएका छन् । शुक्रवार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री महतोले कानन, योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताएका हुन् । 

‘जलवायु परिवर्तनमा नेपालले त्यती राम्रोसँग काम गरेको अवस्था छैन । न हामीसँग नियम कानुन छ, न हामीसँग योजना छ । न हामीसँग रोडम्याप छ । यस बारेमा हामी प्रवेश गर्न सकिरहेका छैनौँ’ मन्त्री महतोले भने, ‘नियम कानून बनाउन अफ्ठ्यारो र विभिन्न मन्त्रालयसँग जोडिएकाले अन्तरमन्त्रालय समन्वय हुन सकिरहेको छैन ।’ 

उनले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताए । मन्त्री महतोले कार्बनमा काम गर्ने कुनै संयन्त्र नै नभएको बताए । 

‘अर्थ मन्त्रालयले विदेशी सहायता नमिल्ने तरीकाले लिइरहेको छ । टुक्रे टुक्रे बजेट ल्याउने र, उसले दिएको कन्डिसन अनुसार काम गर्नुपर्ने । हामीले कार्वनमा काम गरेको एक/दुई वर्ष भयो’ उनले भने, ‘तर कार्बनमा काम गर्ने न हामीसँग कुनै मेकानिजम छ । न हामीसँग मेनपावर छ । न हामीसँग कुनै टेक्निक छ । न हामीसँग कुनै प्रयोगशाला छ ।’ 

मन्त्री महतोले जलवायु, वातावरण लगायतसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा बुझ्दै नबुझीकनन हस्ताक्षर गर्दा समस्या सिर्जना भएको बताए । उनले जंगली जनावरको संख्या बढाए पनि यसको संरक्षणमा चुनौति खडा भएको समेत बताए । मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाएपनि संरक्षण गर्न ठूलो चुनौति देखिएको बताए । 

‘हामीले अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरुले जे भन्छन् जान्ने भएर हस्ताक्षर गरेर आउँछौं । हामी आफ्नो देशको बारेमा सोच्दैनौ । त्यो हस्ताक्षर गरेर आइसकेपछि ४५ प्रतिशत बन पुरयाउनुपर्ने, ५० प्रतिशत वन पुर्याउनुपर्ने, ६० प्रतिशत पुर्याउनुपर्ने भनिएको हुन्छ । त्यसवापत् हामीले के पाउने त ?’ महतोले भने-  ‘पाउने कुरामा हामीले छोडिरहेका हुन्छौँ । मुख्य समस्या भनेकै प्रतिवद्धतामाथि प्रतिवद्धता गरेर हो । जंगलमा भएको जनावर र मानिस बीचको जुन द्वन्द्व छ, अहिले प्रश्न के उठ्न थालेको छ । हामीले कसलाई प्राथमिकता दिने । जनावरले मान्छे मार्यो भने ठिक छ तर, मान्छेले जनावर मारेपछि जिन्दगीभरी जेलमा बस्नुपर्छ । वन ऐनले त जनावर ठूलो भनेको छ । बाघको संख्या त बढायौं तर, त्यसको संरक्षण गर्न ठूलो चुनौती छ ।’ 

अहिले विदेशीले भनेको कुरामा हस्ताक्षर गर्दा जंगलमा भएको जनावर र मानिसबीच द्वन्द्वको अवस्था सृजना भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप