आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

सञ्चार सचिव राउतविरुद्ध मुद्दा नचलाउन सीआईबीको राय

मङ्गलबार, ०५ भदौ २०८०, १४ : ४६
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा घोटाला प्रकरणमा सञ्चार सचिव कृष्ण बहादुर राउतविरुद्ध मुद्दा नचलाउन राय दिएको छ । 
जग्गा हिनामिना प्रकरणमा ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्दा राउतलाई प्रतिवादी नबनाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको हो  ।

‘संगठित किर्ते’ गरेर बालुवाटारको जग्गा हिनामिना गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बावुराम भट्टराई र पूर्व मुख्यसचिव लिलामणि पौड्याललाई पनि प्रतिवादी नबनाउन राय दिइएको सीआईबीका एक अधिकारीले जानकारी दिए । सीआईबीले सरकारी वकिलको कार्यालयलाई मंगलबार आफ्नो रायसहितको प्रतिवेदन बुझाएको हो ।


जग्गा प्रकरणमा यसअघि प्रहरीले राउतलाई पक्राउ गरेको थियो । तर, न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनाबाहिर रहेर मुद्दा लड्न सक्नेगरी राउतको पक्षमा आदेश दिएको थियो । 

‘...निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको थियो । 

अदालतले राउतलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान भने रोक लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप