आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलोपटक बराबरीमा रोकियो मेसीसहितको मियामी

बिहीबार, १४ भदौ २०८०, ११ : १७
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) फुटबल प्रतियोगितामा स्टार खेलाडी लियोनल मेसीको टोली इन्टर मियामी गोलरहित बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई बिहीबार विहान सम्पन्न खेलमा न्यासभिललले गोलरहित बराबरीमा रोकेको हो । 

गत महिना अर्जेन्टिनी स्टार लियोनल मेसी टोलीमा सहभागी भएयता पहिलो पटक इन्टर मियामी जितबाट बञ्चित भएको हो । मेसीसहित मैदानमा ओर्लिएको इन्टर मियामीले यसअघि आफूले खेलेको सबै खेलमा सफलता हात पार्दै आएको थियो । 

उक्त खेल साउथ फ्लोरिडास्थित डीआरभी पीएनके रंगशालामा खेलिएको थियो । मेसीसहितको इन्टर मियामीलाई बराबरीमा रोक्ने पहिलो क्लब बनेको छ, न्यासभिल । मेसी आबद्ध भएपछि इन्टर मियामीले १० वटा खेल खेलिसकेको छ । 

न्यासभिलविरुद्घको प्रतिस्पर्धात्मक खेलमा इन्टर मियामीले विपक्षीको पोष्टमा १३ वटा शक्तिशाली प्रहार गरेको थियो । त्यसमध्ये ६ वटा प्रहार स्टार खेलाडी मेसीले गरेका थिए । ति सबै प्रहारलाई न्यासभिलका गोलरक्षकले विफल पारेका थिए । 

मेसीले इन्टर मियामीका लागि हालसम्म १० वटा गोल गरिसकेका छन् । मेसीकै उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले लिग्स कपको उपाधि पनि चुमेको थियो । यसका अतिरिक्त उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी यूएस ओपन कपको फाइनलमा पनि पुगेको छ । 

एमएलएसमा भने मेसीले न्यु योर्क रेड बुल्सविरुद्घ पहिलो गोल गरेका थिए । उक्त खेलको ८९ औं मिनेटमा उनले गोल गरेका थिए । गत शनिबार खेलिएको त्यो खेलमा इन्टर मियामीले न्यु योर्क रेड बुल्सलाई २—० गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप