सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेर इतिहास रच्दै छिन् क्यानडाकी डेनियल

बिहीबार, १४ भदौ २०८०, १२ : ४९
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रच्ने तयारी गर्दै छिन्, क्यानडाकी डेनियल म्याकगाहेले । उनी औपचारिक रूपमा टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने विश्वकै पहिलो ‘यौनिक अल्पसङ्ख्यक’ बन्ने तयारीमा छिन् ।  

उनलाई क्यानडाको महिला टीट्वान्टी क्रिकेट टोलीमा समावेश गरिएको छ । डेनियलसहितको क्यानडाको क्रिकेट टोलीले आईसीसी टीट्वान्टी महिला विश्वकपको छनोट प्रतियोगिता खेल्दै छ । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बङ्गलादेशमा आयोजना हुनेछ । 

सोही विश्वकपको छनोट प्रतियोगिता खेल्न घोषित क्यानडाको महिला टोलीमा २९ वर्षीय डेनियललाई समावेश गरिएको हो । महिला विश्वकपको अमेरिकी क्षेत्रको छनोट प्रतियोगिता सेप्टेम्बर ४ देखि ११ सम्म अमेरिकामा आयोजना हुँदै छ ।

उक्त छनोट प्रतियोगितामा क्यानडा र अमेरिकासँगै अर्जेन्टिना र ब्राजिल पनि रहेका छन् । क्यानडाले सेप्टेम्बर ४ मा आफ्नो पहिलो खेल ब्राजिलसँग खेल्नेछ । सोही खेलमा डेनियलले पनि ‘डेब्यू’ गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । 

‘यौनिक अल्पसङ्ख्यक’ डेनियलले क्यानेडियन टोलीमा ओपनर ब्याटरको भूमिका निर्वाह गर्ने जनाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि लामो समयको छलफलपछि उनलाई प्रतियोगिता खेल्न अनुमति दिएको क्यानडा क्रिकेट सङ्घले जनाएको छ । 

समाचारमा जनाइए अनुसार, डेनियलले पुरुषबाट महिला ‘ट्रान्सजेन्डर’ बन्ने आईसीसीको सबै मापदन्ड पूरा गरिसकेकी छन् । यसअघि विश्वका अन्य चर्चित खेलमा पनि यौनिक अल्पसङ्ख्यकको विषय चर्को रूपमा उठ्दै आएको छ । 

एथलेटिक्स, साइक्लिङ, पौडी र रग्बीजस्ता खेलमा अझै पनि यो विवाद कायमै छ । ‘अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाउनु मेरो लागि निकै ठूलो अवसर हो । यसबाट मैलै आफू सम्मानित भएको महसुस गरेकी छु,’ डेभियलले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप