मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भोलिदेखि इटहरीको मुख्य राजमार्गमा सिटी सफारी चल्न नदिने

शनिबार, १६ भदौ २०८०, १२ : ४०
शनिबार, १६ भदौ २०८०

इटहरी ।  इटहरी उपमहानगरपालिकाले  आइतबारदेखि  मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ ।  इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घट्ना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखिनै प्रतिवन्ध लगाउने निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । ‘अबदेखि सिटी सफारीहरुले मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन्’ मेयर पौडेलले भने ।

बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो । 

शुक्रवार  इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको  भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डिएसपी मोहन बिक्रम दाहालले बताए ।

उपमहानगरपालिकाले इटहरीबासीको मात्र सफारी दर्ता प्रक्रिया गर्ने भएको छ । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ । अब इटहरीमा अन्य पालिकाको सफारीहरु यात्रु पर्खेर बस्न पाउने छैनन् । 

इटहरीमा  मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जस्लेगर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।

इटहरी उपमहानगर भित्र दर्ता भएको सफारी मात्र उपमहानगरपालिकामा भित्र चलाउन दिने निर्णय भएको छ । इटहरी भित्र करिव ५ हजार सफारी सन्चालनमा रहेको भए पनि इटहरीमा भने ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।

ithari

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप