आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको करियरको ८५० औँ गोल, लिगमा सर्वाधिक गोल र एसिस्टको सूचीको शीर्ष स्थानमा

आइतबार, १७ भदौ २०८०, ०९ : २५
आइतबार, १७ भदौ २०८०

रियाद । क्रिस्टियानो रोनाल्डोले करियरको ८५० औँ गोल पूरा गर्दा अल–नासरले अल–हाजमलाई ५–१ गोलले हराएको छ । साउदी प्रो लिगमा टोलीको यो लगातार तेस्रो जीत हो ।

रोनाल्डोले खेलमा दुईवटा गोलको अवसर पनि सिर्जना गरेका थिए । ३८ वर्षीय खेलाडीले अब्दुलरहमान घारिबलाई खेलको ३३ औँ मिनेटमा गोलको अवसर सिर्जना गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा अब्दुल्लाह अल–खाइबरीले अल–नासरको अग्रता दोब्बर बनाए ।

गाम्बियाका मुहम्मद बाडामोसीले दोस्रो हाफको सुरुवातमा नै अल–हाजमका लागि गोल फर्काए पनि रोनाल्डोको पासमा ओटाभियोले गोल गर्दै टोलीको अग्रता पुनः फराकिलो बनाए ।

६८ औँ मिनेटमा १३ यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै रोनाल्डोले टोलीका लागि चौथो गोल गरे । त्यसपछि ७८ औँ मिनेटमा साडियो मानेले पाँचौँ गोल थपे ।

लिगमा पहिलो दुई खेलमा पराजित भए यता अल–नासरले पछिल्ला ३ खेलमा १४ गोल गरेको छ भने शीर्ष स्थानमा रहेको अल–हिलालभन्दा मात्र ४ अङ्कले पछि रहेको छ । उता रोनाल्डो यो सिजन लिगमा सर्वाधिक गोलकर्ता र गोलको अवसर सिर्जना गर्ने सूचीको शीर्ष स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप