आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘एक भगवत् गीता’को नामको विवादबारे बोर्डमा छलफल

मङ्गलबार, १९ भदौ २०८०, १३ : ०४
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ। केही आध्यात्मिक संस्थाहरूले नेपाली चलचित्र ‘एक भगवत् गीता’को नामबारेमा उठाएका प्रश्न र विमतिको विषयमा चलचित्र विकास बोर्डमा छलफल भएको छ । भाद्र १८ गते सोमवार बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा चलचित्रको तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागी हुनुहुन्थ्यो भने हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका सागर थापा लगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भाद्र २९ गते रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले गरेका थिए । श्रीमद भगवत् गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रूपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ती संस्थाहरूले लगाएका थिए । त्यसको प्रतिउत्तरमा निर्माण पक्षले भगवत् गीताको नाममा कुनै गलत सन्देश दिन नगरिएको प्रष्ट पार्दै गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको बताएको थियो । आध्यात्मिक गुरुहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धी विवादलाई टुंगो लगाउने सहमति सो छलफलमा भएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएको कारणले पनि यो चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगरेको विश्वास लिएको बताए । उनले भने, “हुन त मैले यो चलचित्र हेरेको छैन तरपनि उहाँहरूको परिवारका सबै सदस्य नै आध्यात्मिक रहेको कारण श्रीमद भगवत् गीताको सन्देशको विपरित चलचित्र बनाउनुभएको छ भन्ने लागेको छैन । यद्यपि चलचित्र हेरेर मात्र नाम परिवर्तनको विषयमा निर्णय लिनु उत्तम हुनसक्छ ।” केसीले समस्या समाधानको लागि बोर्डले सदैव सबै पक्षलाई स्वागत गर्ने जिकिर गरे ।

सो छलफल अत्यन्त महत्त्वपूर्ण, सार्थक, सकारात्मक एवम् पेचिलो भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । उहाँले ‘एक भगवत् गीता’बारे विवाद र विमति सकारात्मक निष्कर्षमा पुर्‍याउन सर्वसम्मत सहमति भएको जनाए । “चलचित्रको नामलाई लिएर पैदा भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले निकै विवेकसम्मत तरिकाले पहलकदमी लियो । सर्वपक्षीय छलफलको आयोजना गरी बोर्डले हार्दिक विमर्शद्वारा दुवै पक्षलाई सकारात्मक निकासतिर प्रेरित गर्‍यो । यस प्रयत्न र निष्कर्षबाट सबै पक्ष उत्साहित र एकताबद्ध भयौँ”, बुढाथोकीले बताए ।

यो चलचित्रले कुनै पनि जात, धर्म, समुदाय, लिङ्ग, क्षेत्र र भाषा संस्कृतिमाथि आघात पुर्‍याउने, विभेद सिर्जना गर्ने, द्वेष र घृणा फैलाउने वा कुनै किसिमको मानहानि हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बुढाथोकीले बताए । बोर्ड सिर्जनात्मक स्वतन्त्रताको पक्षधर रहेको उनको जिकिर छ ।

सो छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रवीचन्द्र अधिकारी सहित चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप