आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

औषधि व्यवसायी संघको निर्वाचन : खण्डेलवालद्वारा उम्मेदवारी घोषणा

मङ्गलबार, १९ भदौ २०८०, १५ : १२
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन् ।

भदौ २२ र २३ गते वीरगन्जमा हुने राष्ट्रिय अधिवेशनमा खण्डेलवालले अध्यक्षमा उम्मेदवारी गरेका हुन् । 

उनी हाल संघको वरिष्ठ उपाध्यक्ष छन् । २०३६ सालदेखि औषधि व्यवसायमा संलग्न रहेका खण्डेलवाल २८ वर्षदेखि संघको नेतृत्वमा रहेर काम गरेका छन् । उनले तत्कालीन नारायणी अञ्चलमा विभिन्न पदमा रहेर काम गरेसँगै केन्द्रीय कार्यसमितिमा सदस्य, उपकोषाध्यक्ष, उपाध्यक्ष (आयात) र वरिष्ठ उपाध्यक्षमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।

काठमाडौँमा पत्रकारहरुसँग कुरा गर्दै खण्डेलवालले व्यावसायिक मुद्दासँगै व्यवसायीको हकहितका पक्षमा विभिन्न योजनासहित उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

‘आयातको उपाध्यक्ष हुँदा भन्सार लगायतमा रहेका नीतिगत समस्या निराकरणमा काम गरेको थिएँ,’ उनले भने, ‘व्यवसायी र नियामक संस्थाको समन्वयमा व्यवसायीमैत्री संस्था बनाउन मेरो योगदान रहन्छ ।’

खण्डेलवालले औषधि व्यवसायी संघलाई ‘सबैभन्दा ठूलो र सबै अट्ने’ संस्था बनाउन अधिकतम प्रयास गर्ने जानकारी दिए । ‘मेरो अहंमता छैन, कसैलाई पक्षपात गर्दिनँ,’ उनी भन्छन्, ‘संस्थालाई राम्ररी चलाउन सक्छु । सब साथीहरुलाई मिलाएर काम गर्न सक्छु ।’

औषधि व्यवसायी संघलाई आर्थिक स्वावलम्बन गराउने आफ्नो उद्देश्य रहेको बताउँदै खण्डेलवालले तत्कालै ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’को समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘हरेक व्यवसायमा समस्या आएको छ । उपभोक्ता धेरै छैनन्, सप्लाई धेरै छ । मेसिनहरु निष्क्रिय हुँदै गएका छन्,’ उनी भन्छन्, ‘व्यवसायीलाई डुब्ने अवस्थाबाट बाहिर निकाल्ने नेतृत्वले बलियो भएर काम गर्नुपर्छ ।’

संस्थामा कानुनी सल्लाहकार राख्ने र विशेषज्ञ फर्मासिस्ट राख्ने, नीति विशेषज्ञ समूह बनाउने आफ्नो योजना रहेको खण्डेलवालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप