आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१ करोड दान गर्ने विजय देवरकोन्डाको घोषणापछि पूर्वडिस्ट्रब्युटरको व्यङ्ग्य- ‘हामीलाई ८ करोड घाटा भएको थियो, सहयोग गर्नुहोला’

बुधबार, २० भदौ २०८०, १६ : १८
बुधबार, २० भदौ २०८०

हैदराबाद । अभिनेता विजय देवरकोन्डाको नयाँ चलचित्र ‘कुशी’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले ५ दिनमा करिब ४० करोड भारतीय रुपैयाँ कमाएको छ । 

चलचित्रको सफलतालाई हेर्दै विजयले चलचित्रबाट कमाई हुने १ करोड रुपैयाँ दान गर्ने घोषणा गरेका छन् । उनले १ सय परिवारलाई खुसी बाँड्दै १–१ लाख रुपैयाँ दान गर्ने बताएका हुन् । एकतर्फ यस घोषणापछि विजयले फ्यानबाट तारिफ बटुलिरहेका छन् भने अर्कोतर्फ सन् २०२० मा रिलिज भएको चलचित्र ‘वर्ल्ड फेमस लभर’ का डिस्ट्रीब्युटरले उनीमाथि व्यङ्ग्य गरेका छन् ।

अभिषेक पिक्चर्सका मालिक अभिषेक नामाले एक ट्वीट गर्दै चलचित्र फ्लप हुँदा भएको नोक्सानलाई भर्पाई गर्न मद्दत गर्न विजयसँग आग्रह गरेका छन् । सन् २०२० मा विजयको तेलुगु चलचित्र ‘वर्ल्ड फेमस लभर’ को राइट्स अभिषेकले किनेका थिए । तर, चलचित्र नराम्रोसँग फ्लप भएको थियो ।

डिस्ट्रीब्युटरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डियर विजय देवरकोन्डा, हामीलाई ‘वर्ल्ड फेमस लभर’ को डिस्ट्रीब्यूसनमा ८ करोड रुपैयाँ घाटा भएको थियो । तर, त्यसबारे कसैले चर्चा गरेनन् । अब जब तपाईं ठुलो हृदय राख्दै कयौँ परिवारलाई १ करोड रुपैयाँ दान गर्दै हुनुहुन्छ भने म तपाईंसँग एक आग्रह गर्न चाहन्छु कि हामी एग्जिबिटर्स र डिस्ट्रीब्यूटर्सको परिवारको बारेमा पनि थोरै सोच्नुहोला ।’

यसअघि विशाखापटनमा आयोजना गरिएको ‘कुशी’ को प्रमोसनका दौरान विजयले दानबारे घोषणा गरेका थिए । शिव निर्वाण निर्देशित चलचित्र ‘कुशी’ मा विजयसँग सामन्था रुथ प्रभुको प्रमुख भूमिका रहेको छ । चलचित्रले पहिलो दिनमा नै १५ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप