आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिपी साहित्य महोत्सव : उद्घाटनदेखि पाँच वटा विधामा कार्यक्रम सञ्चालनसम्म

आइतबार, २४ भदौ २०८०, २० : ५१
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि बिपी साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।  किरण मानन्धरले क्यानभाषमा तयार गरेको लाईभआर्टमा सभापति देउवाले रंग लगाएर चित्रकलाको सुरुवात गरेका थिए । 

मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको देउवाको भनाइ छ । ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौँ,’ उनले भने । तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बिपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताए ।

उद्घाटनपछि सभापति देउवाले बागमती किनारमा रहेको बिपी पार्कमा रुद्राक्षको वृक्षारोपण समेत गरेका थिए । 

महोत्सवमा ११० वटा साना बेलुनको झुप्पो र पार्टी कार्यालय भवनको छतमा करिब ३० फिटमाथि स्थायी रुपले रहने गरी बिपीको तस्बिर, चारतारे झण्डा, रूख र महोत्सवको लोगो अंकित १० वाई १० को बेलुन एक साथ उडाइएको थियो । 

आइतबार पाँच वटा विभिन्न विधामा कार्यक्रम सञ्चालन भएको थियो । बिपीको साहित्य सिर्जना र जीवन दर्शनका विषयमा साहित्यकार अभि सुवेदी वक्ताको रुपमा थिए भने उक्त कार्यक्रमको सहजीकरण सोझो गाउँलेले गरेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्माले १ घण्टा सहजीकरण गरेको बिपीका दृष्टिमा बिपी भन्ने शीर्षकमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक सि.के. लाल वक्ताका रुपमा छलफलमा सहभागी भएका थिए भने लाइभआर्ट विजय थापाले गरेका थिए ।

बिपीका आख्यानमा मनोविश्लेषणका विषयमा राम लोहनी, कोमल फुयाँल र साधना प्रतीक्षा वक्ताका रुपमा थिए भने सहजीकरण दिपक ढकालले र लाइभआर्ट नगेनसिंह ठकुरीले गरेका थिए ।

यस्तै साहित्यमा पर्यावरण शीर्षकमा अम्मराज जोशी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायमाझी वक्ताका रुपमा थिए भने अर्चना थापाले सहजीकरण र किरण मानन्धरले लाइभआर्ट गरेका थिए ।

यस्तै नेपालको मातृभाषा साहित्य शीर्षकमा बमकुमारी बुढामगर, अमृत योञ्जन र चन्द्र किशोर वक्ताका रुपमा हुनुहुन्थ्यो भने प्रकाश थाम्सुहाङले सहजीकरण र किरण सिगूले लाइभआर्ट गरेका थिए ।

साँझ कविहरुले कविता वाचन गरेका थिए भने त्यसको सहजीकरण हेमप्रभासले गरे ।

विभिन्न सत्रहरुको बीचमा सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको कांग्रेस सूचना, सञ्चार तथा प्रचार प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

महोत्सवमा नेपाली कांग्रेस पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरु, मन्त्रीहरु, सांसदहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरु, विभिन्न विधाका विद्धान, साहित्यकार, लेखक, पत्रकार, चित्रकार, राजनीतिज्ञ, युवा, विद्यार्थी लगायतको सहभागिता रहेको प्रमुख विश्वकर्माले बताए । 

भाद्र २५ र २६ गते निर्धारित समयमा महोत्सवको सुरु हुने भएकाले सहभागिताका हुन प्रमुख विश्वकर्माले आग्रह गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप