सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप खेल्न केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली

सोमबार, २५ भदौ २०८०, ११ : १९
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि सोमबार न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ । न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा मध्यमतेज गतिका बलर ट्रेन्ट बोल्टलाई पनि समावेश गरिएको छ ।  यसअघि ट्रेन्ट बोल्ट र जेम्स निसामलाई न्युजिल्यान्ड क्रिकेट बोर्डको करारमा समावेश गरिएको थिएन । जेम्स निसामलाई पनि विश्वकपका लागि घोषित टोलीमा समावेश गरिएको छ । सन् २०१९ को विश्वकपमा पनि उनी टोलीमा थिए । 

विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा केन विलियम्सन ९कप्तान०, मार्क च्यापम्यान, डेभोन कोनवे, ट्रेन्ट बोल्ट, म्याट हेनरी, टम लाथम, लोकी फर्गुसन, जेम्स निसाम, ग्लेन फिलिप्स, ड्यारल मिचेल, मिचेल सान्टनर, इश सोढी, राचिन रविभन्द्र, टिम साउथी र विल योङ रहेका छन् । 

आगामी विश्वकपमा न्युजिल्यान्डले साविक विजेता इङ्ल्यान्डसँग अक्टोबर ५ मा उद्घाटन खेल खेल्नेछ । उक्त खेल अहमादाबादमा खेलिने छ । न्युजिल्यान्डले आफ्नो दोस्रो खेल अक्टोबर ९ मा नेदरल्यान्ड्ससँग खेल्ने छ । आगामी विश्वकपका लागि न्युजिल्यान्डका अतिरिक्त हालसम्म अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाले टोलीको घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप