आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नसीरुद्दीन शाहलाई गदर–२ का निर्देशकको जवाफ, ‘पहिला फिल्म हेर्नुहोस्, धारणा फेरिनेछ, दाबी गर्छु’

बिहीबार, २८ भदौ २०८०, १३ : ०४
बिहीबार, २८ भदौ २०८०

केही दिन अघि नसीरुद्दीन शाहले दिएको एक वक्तव्यले सोसल मिडियासमेत बलिउडमा पनि तहल्का मच्चाइरहेको छ । एक अन्तरवार्ताका क्रममा नसीरुद्दीनले गदर–२ र कश्मीर फाइल्सजस्ता फिल्म हिट हुने ट्रेन्डलाई खतरनाक बताएका छन् । 

यसबारे फिल्म गदर–२ का निर्देशक अनिल शर्माले एक भारतीय सञ्चार माध्यमसँग प्रतिक्रिया दिएका छन् । अनिल भन्छन्, ‘मैले नसीर साहबको त्यो कोट पढेँ । म चकित परेँ । नसीर साहबलाई त राम्रोसँग थाहा छ र उनलाई म कस्तो विचारधाराको हुँ भन्ने पनि थाहा छ । उहाँले यस्तो गदर–२ का लागि भनेको सुनेर मलाई साँच्चै नै पत्यार लागिरहेको छैन ।’

गदर–२ कुनै समुदायविरुद्ध छैन

अनिलले थपे, ‘म यो भन्न चाहन्छु कि गदर–२ कुनै पनि समुदायविरुद्ध छैन । न कुनै देशविरुद्ध नै छ । गदर एउटा यस्तो फिल्म हो जुन देशभक्तिले ओतप्रोत छ । त्यो एउटा सिक्वलको हिस्सा हो । यो पूर्ण रूपमा मसला फिल्म हो जुन मानिसहरूले वर्षौँदेखि हेर्दै आएका छन् । म त नसीर साहबलाई यो भन्न चाहन्छु कि एक पटक गदर–२ हेर्नुहोस्, तपाईंको वक्तव्य पक्कै पनि फेरिनेछ । मलाई त अहिले पनि लाग्छ कि उहाँले यस्तो कुरा भन्न नै सक्नु हुन्नँ । म उहाँको अभिनयको प्रशंसक हुँ । यदि उहाँले यस्तो भन्नुभएको छ भने म एक पटक फिल्म हेर्न आग्रह गर्छु । मैले सिनेमा मसलाको हिसाबले मात्रै बनाएको छु । यसमा मेरो कहिल्यै कुनै ‘पोलिटिकल प्रोपागान्डा’ छैन । यो कुरा नसीर साहबलाई राम्रोसँग थाहा छ ।’

के नाना पाटेकरको इशारा गदर–२ मा थियो ?

यस्तै अर्कोतर्फ नाना पाटेकरले पनि भ्याक्सिन वारको पत्रकार सम्मेलनमा हिट भएको फिल्ममाथि कटाक्ष गरेका थिए । कुनै पनि फिल्मको नाम नलिई नानाले आफूलाई फिल्मको स्क्रिप्टबाट वाक्क लागेका कारण बाध्य भएर फिल्मलाई बीचमा नै छोडेर आउनुपरेको बताए । नाना गदर–२ को प्रिमियरमा पुगेको बताइन्छ । त्यसैले पनि उनको इशारा अनिल शर्माको फिल्मतर्फ त छैन भनेर धेरैले प्रश्न सोधेका छन् । यसमा पनि अनिल भन्छन्, ‘यो त सम्भव नै छैन । उनले मेरो फिल्म पूरा हेरेर निस्किएका थिए । उनी त गद गद भएका थिए । उनले अरू कुनै फिल्मबारे कुरा गरेका थिए होलान् । ’

‘नानाले त हाम्रो फिल्ममा भोइसओभर पनि दिएका थिए । उनलाई त हाम्रो फिल्म भिन्न खालको लागेको थियो । उनलाई सन्नी र उत्कर्षको बन्डिङ पनि असाध्यै मन परेको थियो । तपाईं चाहनुहुन्छ भने उनलाई सोध्न पनि सक्नुहुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप