सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधको कारोबार गरेको आरोपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल पक्राउ

शुक्रबार, २९ भदौ २०८०, १३ : ०९
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । अस्ट्रेलिया चर्चित पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिलमाथि प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेको आरोप लागेको छ । प्रतिबन्धित लागू औषध कोकिन ओसारपसार गरेको आरोपमा ५२ वर्षीय म्याकगिललाई प्रहरीले पक्राउ गरेको छ । 

म्याकगिलले ठूलो परिमाणमा कोकिन ओसारपसार गरेको प्रहरीको दाबी छ । म्याकगिल आफ्नो समयका चर्चित स्पिनर हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेका छन् । देशका लागि ४४ वटा टेस्ट खेलेका उनले दुई सय आठ विकेट लिएका छन् । 

टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय आठ रन दिएर आठ विकेट हो । उनले अस्ट्रेलियाका लागि एकदिवसीय प्रतियोगिता भने तीनवटा मात्र खेलेका छन् । एकदिवसीय प्रतियोगितामा उनले ६ विकेट लिएका छन् । एकदिवसीय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन १९ रन दिएर चार विकेट हो । 

उनले प्रहरीले राजधानी सिड्नीबाट पक्राउ गरेको हो । सन् २०२१ मा म्याकगिलमाथि कुटपिट भएको प्रकरण सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले अनुशन्धान सुरु गरेको थियो । सोही क्रममा उनी आफै लागू औषध कारोबारी भएको रहस्य खुलेको प्रहरीले जनाएको छ । 

म्याकगिलले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गर्दै आएका छन् । उनीसँगै अन्य केही ब्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । उनले तीन लाख अमेरिकी डलरको कोकिनको कारोबार गरेको प्रहरीको दाबी छ ।

न्यायालयले उनलाई जमानतमा रिहा गरेको छ । अब उनले अक्टोबर २६ तारिखमा अदलातमा उपस्थित हुनु पर्नेछ ।  उनले सन् २००८ को मे—जुनमा वेस्ट इन्डिजविरुद्द अस्ट्रेलियाका लागि अन्तिम टेस्ट खेलेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप