आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको उपाध्यक्षमा डा केशव पौडेलको उम्मेदवारी घोषणा

शुक्रबार, २९ भदौ २०८०, १७ : १३
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका वर्तमान महासचिव पौडेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए । 

उनले अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैलाने दायित्व रहेको भन्दै त्यसका लागि अध्यक्षको उम्मेदवारबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको  दुई कार्यकाल  अध्यक्ष  तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको बताए । 

  दशौँ महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्मेवारी सबैसामु रहेको उल्लेख गर्दै पौडेलले दसौं विश्वसम्मेलनमा सबै अभियन्ताले महासचिवको रुपमा गरेको विश्वासप्रति सम्मान व्यक्त गर्दै आउँदो ११ औं महाधिवेशनमा  उपाध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गरेको बताए । 

‘हुनतः यस पटक नै मैले संघको नेतृत्वको निम्ति तयारी पनि गरेको थिएँ, तर यो संस्थामात्र नभई अभियान भएकाले सहमतिको बिन्दुबाट पनि सोच्नुपर्ने हुन्छ’, उनले भने, ‘संघको विभिन्न पदमा रही काम गरिसक्नुभएका अनुभवी र म जस्तै नेतृत्व गर्ने अर्को एनआरएनए अभियन्ताले सँगै अभियानलाई अगाडि बढाउं भनिरहँदा त्यसलाई सहज रुपमा लिदैं म अभियानमा आफू उपाध्यक्ष पदमा रुपमा रही अघि बढ्ने निष्कर्ष सहित अगाडि आएको यहाँहरुमा अनुरोध गर्न चाहन्छु । ’

पौडेलले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन् । जसमा निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यन्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन् । आफूलाई उपाध्यक्षको रुपमा उभ्याईरहँदा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन् । 

पहिलो मुद्दा  नेपाली नागरिकताको निरन्तरता नै हुने उनले बताए । ‘अहिले संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन सँगै ूएक पटकको नेपाली सधैंको नेपालीू भन्ने हाम्रो मूल उद्देश्य अनुरुप नेपाली नागरिकताको निरन्तरताको विषयलाई टुंगोमा पुर्‍याउन मेरो भूमिका रहनेछ’, उनले भने, ‘खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोप लगायतका देशमा रहनुहुने त्यहाँको नागरिकता लिनुभएका गैरआवासीय नेपालीले नेपालमा रहेको सम्पत्तिलाई लिएर धेरै असजिलो अवस्था व्यहोर्नु परिरहेको छ । नेपाल भित्र केही गर्नु पर्दा पनि विदेशी दर्जामा गर्नुपरिरहेको छ, यी बाहेक पनि मुख्य कुरा आफूलाई एक प्रकारको विभेद जस्तो व्यहोर्नु परिरहेको छ, तसर्थ त्यसलाई टुंगोमा पुर्‍याउन नेपाली नागरिकताको निरन्तरता नै आवश्यक छ ।’ 

दोस्रो मुद्दा एनआरएनएलाई नै संस्थागत बनाउनु भएको उनको भनाइ छ ।  एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्चमा पनि कटौती गर्न सकिने भएकाले त्यसतर्फ पनि आफ्नो ध्यान रहने उनले बताए ।  विश्वभर रहेको  अनुभव, ज्ञान, पुँजी र सामर्थ्यलाई संस्थागत ढंगवाट नेपालका नेपाली र गैर आवासीय नेपालीका बीच पनि उपलब्धिमूलक ढंगवाट पुर्‍याउन आफूले काम गर्ने पौडेलले बताए। 

यस्तै तेस्रो मुद्दा  गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम भएको उनले बताए । ‘देश अनुसार एनआरएनहरुका आवश्यकता फरक फरक छन्  । त्यसलाई लिपिबद्ध गर्दै सम्बोधन गर्ने तर्फ एनआरएनएले पहल गर्नुपर्ने हुन्छ । दोहोरो कर प्रणाली, आप्रवासी कामदारको सामाजिक सुरक्षाको जिम्मेवारी, वैदेशिक श्रम बजारमा सिपयुक्त जनशक्त्ति, कूटनीतिक नियोगहरुवाट दिइने सेवामा सेवाग्राहीको सरल पहुँच र सहज समाधानको पहल, नेपालको निर्वाचनमा मत दिन योग्य गैर आवासीय नेपालीले मत दिन पाउने व्यवस्थाको कार्यान्वयन, कठिनाई रहित भन्सार सुविधा, पुँजीको सरल व्यवस्थापन, वैदेशिक श्रम बजारवाट नेपाल फर्कन चाहनेहरुका लागि आवश्यक व्यवस्थाको पहल, सुरक्षित वैदेशिक श्रम बजार जस्ता धेरै विषयहरुमा हामीले कार्य गर्नुपर्ने छ त्यस तर्फ मेरो भूमिका रहनेछ’, उनले भने । 

 यसैगरी विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी आयोजना गर्न आफूले पहल गर्ने पनि पौडेलले बताए । साथै, संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिने, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा पनि आफूले संस्थागत रुपमा पहल गर्ने पौडेलको प्रतिबद्धता छ । 

आफ्नो उम्मेद्वारीप्रति  विश्वभरबाट सहभागी हुने प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीबाट साथ र सद्भाव रहने उनको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप