मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमालेको कोशी अध्यक्षमा पराजित ढकालको प्रश्न– के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ?

‘नेतृत्वको घेराबन्दी भयो, कार्यकर्तालाई डर, त्रासमा पारेर भोट मागियो’
बिहीबार, १८ असोज २०८०, १४ : ५७
बिहीबार, १८ असोज २०८०

विराटनगर । नेकपा एमालेको मंगलबार सम्पन्न कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा पराजित विनोद ढकालले निर्वाचनका क्रममा पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम गुटबन्दी गरेको आरोप लगाएका छन् ।

विराटनगरस्थित एमालेको पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी ढकालले नेतृत्व तहबाटै घेराबन्दी गरेर आफूलाई हराइएको बताए । त्यसक्रममा उनले आफ्नो पक्षमा लाग्ने कार्यकर्ताहरुलाई नेतृत्व तहबाट डर, त्रास र धाकधम्की दिइएको समेत दाबी गरे ।

‘हालै सम्पन्न कोशी प्रदेशको प्रथम अधिवेशनमा पार्टीको मूल सिद्धान्त र पार्टी विधानको भावना विपरीत केन्द्रीय नेताहरूले अमूक उम्मेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुलमखुला देखियो,’ ढकालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम रुपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेका मात्र होइन, आफूखुसी गरिरहेको त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारवाजी गर्न समेत भ्याउनुभयो ।’

ढकालले नेताहरुको तहबाट भएको त्यस्तो व्यवहारले पार्टी अध्यक्ष ओलीलाई विवादमा पार्ने काम भएको पनि बताए । ‘उहाँहरुको त्यस्तो व्यवहारबाट पार्टी अध्यक्षजस्तो संस्थालाई विवादमा पार्ने काम भएको छ भने पार्टीभित्रको प्रतिस्पर्धालाई अस्वस्थ र दबाबमूलक बनाएको छ । के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ? के पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढाको हुनसक्छ ?,’ उनले प्रश्न गरेका छन् ।

केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य तथा स्थायी समिति सदस्यहरुलाई प्रदेश अध्यक्षको लागि भोट माग्ने अधिकार नै नभएको उनले बताए । पार्टी अध्यक्षको नाम लिएर पक्ष विपक्षमा लाग्नु विधान विपरीतको अनैतिक काम भएको पनि ढकालले बताए ।

ढकालले चुनावी परिणामलाई सहर्ष स्वीकार गर्ने बताउँदे नवनिर्वाचित नेतृत्वलाई सहयोग रहने विश्वास पनि दिलाए । यद्यपि प्रदेश अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै निर्वाचनको बेला आफूलाई सहयोग गर्ने कार्यकर्तालाई विभेदमा पारिए चुप नलाग्ने उनले बताए । ‘आगामी दिनमा उहाँहरुप्रति कुनै भेदभाव वा आग्रह नराखी कामको जिम्मेवारी दिन र पार्टी काममा उहाँहरूको योगदानको सदुपयोग गर्न नेतृत्व समक्ष आग्रह पनि गर्दछु,’ ढकालले भनेका छन्, ‘त्यस्तो व्यवहार भएमा विभेदमा परेका नेता कार्यकर्ताको संरक्षणका लागि मैले नैतिक रूपमा आवाज उठाउनु पर्ने हुन्छ । जसले मलाई सहयोग ग¥यो, उसलाई मैले प्रतिरक्षा गर्नुपर्छ । चुनावमा कसले भोट दियो, दिएन भनेर कार्यकर्तालाई विभेदमा पार्न खोजिन्छ भने म चुप लागेर बस्दिनँ है भनेर भनेको छु ।’

यसैबिच शपथग्रहण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कमिटीले धाँधली ग¥यो भन्ने हिसावले दिएको धारणाले राम्रो सन्देश नगएको ढकालले बताए । ‘निर्वाचन कमिटीको अध्यक्ष विजय सुब्बा प्रदेशमै हुनुहुन्थ्यो । केन्द्रले बनाएको निर्वाचन कमिटी हो । केही केही उहाँले भनेको सही कुरा हो । बाहिर नै टिक लगाएर मतपत्र लैजाँदै गरेको पनि देखिएको थियो । त्यो मत मेरो नाममा थिएन । विजयी भएकाहरुले नै धाँधली गरेको भनेर अध्यक्षले इंगित गर्नुभएको हो कि ? मलाई थाहा भएन,’ ढकालले भने, ‘तर परिणाम आइसकेको कारण निर्वाचन कमिटीले निष्पक्ष गरेन भनेर भन्ने कुरा उहाँको तहबाट सुहाउने कुरा होइन ।’

अहिले पनि आफू केपी ओली निकट नै रहेको बताउँदै ढकालले अध्यक्षको नाम लिएर अध्यक्षका वरिपरि रहेका केही नेताले घेराबन्दी गरेको दाबी गरे । ‘त्यो कसले घेराबन्दी ग¥यो भन्ने विषय तपाईहरुलाई थाहा छ । त्यो नाम कोट गरेरै लेखिदिनुहोला,’ ढकालले भने ।

उनले आफूलाई बुधबार आयोजित शपथग्रहण कार्यक्रममा निकटतम प्रतिद्वन्द्वीको हिसावले केही बोल्न नदिएको गुनासो पनि गरे । ‘मैले प्रदेश अधिवेशनको समापन र नव निर्वाचित पदाधिकारीको शपथग्रहण समारोहमा नै यति कुरा भनेर बधाई, धन्यवाद तथा आभार प्रकट गर्न पाइन्छ कि भन्ने ठानेको थिएँ,’  ढकालले भने, ‘अध्यक्ष पदको निकटतम् प्रतिस्पर्धीको नाताले समापन समारोहको मञ्चबाट धन्यवाद दिने अवसर नपाएको कारणले नै यसरी पत्रकार सम्मेलन गरेर विचार सार्वजनिक गर्न लागेको कुरा समेत यहाँहरु समक्ष स्पष्ट पार्न चाहन्छु ।’

नेपाल कम्यनिस्ट पार्टी एमाले कोशी प्रदेश कमिटीको नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ बुधबार नै लिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथग्रहण कार्यक्रम भएको हो ।

अधिवेशनबाट अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसविचव जलवर्षा राजवंशी र देवान राईसहित २१५ जनाको कार्यसमिति चयन भएको थियो । निर्वाचनका क्रममा ढकाल पक्षको प्यानलमा रहेका सबै पदाधिकारी पराजित भएका छन् भने खतिवडा पक्षका पदाधिकारी विजयी भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप