आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा कर्फ्यू पूर्णरुपमा हटाइयो, विशेष सुरक्षा योजना लागू

मङ्गलबार, २३ असोज २०८०, १४ : २९
मङ्गलबार, २३ असोज २०८०

नेपालगञ्ज । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू पूर्णरुपमा हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे । 

अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यू लगाइएको थियो । यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिकाे समयमा कर्फ्यू कायमै राखिएको थियो ।  

यसैबीच बाँकेमा प्रहरीले दसैँ र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

सीमा क्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायकता कक्ष स्थापना भएको भएको छ । भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले जानकारी दिए । 

प्रहरीले बसपार्क क्षेत्रमा यात्रुहरु ठगी हुने सम्भावना भएकाले त्यसमा पनि निगरानी बढाएको जानकारी दिँदै प्रनाउ डाँगीले भारतका रेल्वेस्टेसनसम्म पनि सादा पोसाकमा रहेका प्रहरीले निगरानी गरेको बताए । “कसरी हुन्छ नागरिककोे जीउधनको सुरक्षा गर्ने योजना हो”, उनले भने । यसबाहेक भारतसँग जोडिएका सीमा क्षेत्र नरैनापुर लगायतका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप