आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी—२० क्रिकेट

कप्तान रोहित र दीपेन्द्रको उत्कृष्ट साझेदारीपछि नेपालको सुखद सुरुआत

बुधबार, ०१ कात्तिक २०८०, १६ : ५१
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । 

काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरे ।

कप्तान पौडेल र दीपेन्द्रले टोलीका लागि ९३ रनको साझेदारी गरेका थिए । रोहितले केवल ४० बलको सामना गरी पाँच चौका हिर्काएका थिए । दीपेन्द्रले भने केवल २३ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । 

crciket (1)

त्यसअघि नेपालले ५१ रनको कुल स्कोरमै आफ्नो तीन विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी १४ बलमा एक चौकाको मद्दतले १४ रन बनाउँदै आउट भएका थिए ।

उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २४ रन बनाएको थियो । उनलाई यूएईका बलर निलान्स केशवानीले अली नासिरद्वारा क्याच गराएका थिए ।  दोस्रो विकेटका रुपमा नेपालका कुशल मल्ल ११ रन बनाउँदै आउट भएका थिए । रनआउट भई पेभेलियन फर्किनुअघि उनले नौ बलको सामना गरी दुई चौका हिर्काएका थिए ।

उनी आउट हुँदा नेपालले सात ओभरमा दुई विकेट गुमाएर ४५ रन बनाएको थियो ।  नेपालको तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेख २३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले आउट हुनुअघि २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनको विकेट अली नासिरले लिएका थिए । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ५१ रन बनाएको थियो । 

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । खेलको प्रारम्भमै चार विकेट गुमाएको यूएईले त्यसपछि भने आक्रमक ब्याटिङ गरेको थियो ।  यूएईका लागि पाँचौँ र छैठौँ नम्बरका ब्याट्सम्यानले ५६ रनको साझेदारी गरेका थिए ।

पाँचौँ नम्बरका ब्याट्सम्यान अली नासिरले ३२ रनको योगदान गरेका थिए । छैठौँ नम्बरका क्रिज समाल्न आएका बासिल हमिदले अर्धसत बनाएका थिए । उनले आक्रामक पाली खेल्दै केवल ३८ बलको सामना गरी चार छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए । यूएईले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।

crciket (2)

नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिएका थिए । उनले चार ओभरमा केवल १९ रन खर्चिएका थिए । गुल्सन झाले पनि दुई विकेट हात पारेका थिए । उनले तीन ओभरमा ११ रन खर्चिए ।

सोमपाल कामी र अविनाष बोहराले एक—एक विकेट लिएका थिए ।  सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई पहिलो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्काएका थिए ।

सोमपालले खालिदलाई आफ्ना कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको थियो ।

crciket (5)

यूएईको दोस्रो विकेट करण केसीले लिएका थिए । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । यूएईले दोस्रो विकेट ३‍.१ ओभरमा गुमाएको थियो ।   

यसैगरी यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । ६.१ ओभरमा ओपनर ब्याट्सम्यान वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको थियो ।

यूएईको चौथो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका आसिफ खानलाई १५ रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् ।

आसिफले १२ बलमा दुई चौका हिर्काएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । ८.४ ओभरमा चौथो विकेट गुमाउँदा यूएईले ५२ रन बनाएको थियो ।

crciket (7)

यसैगरी यूएईको पाँचौँ विकेट करण केसीले लिएका थिए । उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । उनले नासिरलाई कप्तान रोहितद्वारा क्याच गराएका थिए । नासिरले ३० बलमा एक छक्का र तीन चौका हिर्काए । 

यसैगरी यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । फराजुद्दिनलाई उनले आिसफ शेखद्वारा क्याच गराएका थिए । 

crciket (9)

यूएईको सातौँ विकेट भने अविनाष बोहराले लिएका हुन् । उनले यूएईका बासिल हमिदलाई ५१ रनमा आउट गराए । हमिदको क्याच पनि आशिफ शेखले लिए । हमिदले ३८ बलमा चार छक्का र एक चौका हिर्काएका थिए । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार हङ्कङसँग खेल्नेछ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी

crciket (11)crciket (12)crciket (13)crciket (14)crciket (15)crciket (16)crciket (17)crciket (19)crciket (20)

crciket (23)crciket (24)crciket (25)crciket (26)crciket (27)crciket (35)crciket (36)crciket (37)crciket (38)crciket (39)crciket (40)crciket (41)crciket (42)crciket (43)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप