आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी—२० क्रिकेट

नेपालले हङकङलाई ६ विकेटले हरायो

बिहीबार, ०२ कात्तिक २०८०, १३ : ५३
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको खेलमा नेपालले हङ्कङलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए । गुल्सन झाले पनि अविजित १४ रनको योगदान गरे । उनले पाँच बलमा दुई छक्का प्रहार गरे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो ।

cricket (1)

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी आठ रन बनाउँदै हङ्कङका बलर एहसान खानको बलमा बोल्ड भएका थिए । उनले आठ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए ।  नेपालको दोस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । उनी एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई हङ्कङका बलर एहसान खानले बोल्ड गरेका हुन् । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका थिए । 

सन्दीप जारालाई केवल तीन रनको ब्यक्तिगत स्कोरमा हङ्कङका बलर एहसान खानले बोल्ड गरेका थिए । एहसान खानले लिएको यो तेस्रो विकेट थियो । सन्दीप जोरा आउट हुँदा नेपालले ७.३  ओभरमा ४७ रन बनाएको थियो ।  यसैगरी नेपालको चौथो विकेटका रुपमा आसिफ शेख ४२ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ३४ बलको सामना गरी ६ वटा चौका हिर्काएका थिए । आसिफको विकेट यासिम मुर्तजाले लिएका हुन् । आसिफ आउट हुँदा नेपालले १२.१ ओभरमा ७७ रन बनाएको थियो ।

cricket (2)

त्यसअघि नेपालले जितका लागि हङ्कङबाट ९५ रनको लक्ष्य पाएको थियो । हङ्कङलाई ठूलो योगफल बनाउन नदिन नेपाली टोलीका बलर करण केसीले चार विकेट लिएका थिए । उनले चार ओभरमा १५ रन खर्चिएका थिए । सोमपाल कामी र अविनोष बोहराले पनि दुई—दुई विकेट हात पारेका थिए । कुशल मल्ल र मौसम ढकालले एक—एक विकेट लिएका थिए ।

हङ्कङका लागि भने दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएका थिए । यासिम मुर्तजाले ३६ र जिसन अलीले १७ रन बनाएका थिए । हङ्कङले अन्तिम विकेटका रुपमा एहसान खानलाई चार रनमा गुमाएको थियो । उनको विकेट सोमपाल कामीले लिए । हङ्कङले अतिरिक्त रुपमा चार रन पाएको थियो । 

करणले पहिलो बलमै हङ्कङको विकेट लिएका थिए । उनले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका थिए । निजाकत हङ्कङका कप्तान पनि हुन् । दोस्रो विकेट पनि करण केसीले नै लिएका थिए । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले राथलाई आसिफ शेखद्वारा क्याच गराएका थिए ।

cricket (3)

हङ्कङको तेस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले हङ्कङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । त्यतिबेला हङ्कङले चार ओभरमा तीन विकेट गुमाएर १४ रन बनाएको थियो । हङ्कङको चौथो विकेट पनि करण केसीले लिएका थिए । उनले हङ्कङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले हायातलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । करणले लिएको यो तेस्रो विकेट थियो । 

हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले अजिजलाई करण केसीद्वारा क्याच गराएका थिए । अजिज आउट हुँदा हङ्कङले ८.२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको थियो ।

यसैगरी हङ्कङको छैठौँ विकेट मौसम ढकालले लिएका थिए । मौसमले हङ्कङका जिसन अलीलाई १७ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जिसनले २० बलमा दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा हङ्कङले १३.५ ओभरमा ६ विकेट गुमाएर ६३ रन बनाएको थियो ।

cricket (4)

हङ्कङको सातौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले हङ्कङका ब्याट्सम्यान छैठौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्जजालाई ३६ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि मासिमले ३६ बलमा एक छक्का र दुई चौका हिर्काएका थिए ।  हङ्कङको आठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले हङ्कङका हारुन अर्सदलाई पेभेलियन फर्काए । करणले उनलाई दुई रनको ब्यक्तिगत स्कोरका बोल्ड गरे । हङ्कङकले १७.३ ओभरमा आठ विकेट गुमाएर ८६ रन बनाएको थियो । करणले लिएको यौ चौथो विकेट थियो । 

cricket (5)

हङ्कङको नवौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले हङ्कङका अदित गोरावारालाई आठ रनको ब्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । अविनाषले लिएको यो दोस्रो विकेट थियो । गोरावारा आउट हुँदा हङ्कङले १८.४ ओभरमा ९० रन बनाएको थियो । जारी शृंखलामा नेपालले हात पारेको यो दोस्रो जित हो ।

यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।  तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी

cricket (6)cricket (7)cricket (8)cricket (9)cricket (10)cricket (11)cricket (12)cricket (13)cricket (14)cricket (15)cricket (16)cricket (17)cricket (18)cricket (19)cricket (20)cricket (21)cricket (22)cricket (23)cricket (24)cricket (25)cricket (26)cricket (27)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप