सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चर्को ब्याजदरका कारण अमेरिकामा मुस्किल बन्दै घर किन्ने सपना

बिक्री घटेर १३ वर्षयताकै न्यून स्तरमा ओर्लियो
बुधबार, ०८ कात्तिक २०८०, १६ : १५
बुधबार, ०८ कात्तिक २०८०

वासिङ्टन डिसी । अमेरिकामा गएको महिना घरको विक्री घटेर १३ वर्षयताकै न्यून स्तरमा झरेको छ । घरजग्गा व्यवसायीहरूको सङ्गठन नेशनल एसोसिएसन अफ रियल्टर्स (एनएआर)का अनुसार सेप्टेम्बरमा मौसमी समायोजन गरेपछिको विद्यमान घरको विक्री सङ्ख्या ३९ लाख ६० हजार ओटा छ । विक्री यो आकार गत वर्षको सोही अवधिको भन्दा १५ प्रतिशत कम हो । विक्रीको यो सङ्ख्या सन् २०१० मा विद्यमान घरको विक्रीसम्बन्धी रेकर्ड राख्न थालिएयताकै न्यून भएको बताइएको छ ।

वर्षभरि नै अमेरिकाको घर बजारको स्थिति यस्तै छ । सीमित इन्भेन्टरी अनि धितो कर्जाको उच्च दरका कारण घर खरिद महँगो बन्दा विक्री प्रभावित भएको एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले एक विज्ञप्तिमा भनेका छन् । समीक्षा अवधिमा लगातार तेस्रो महिना पनि घरको मूल्य गएको वर्षको सोही अवधिको भन्दा बढेको थियो । अगस्टमा विक्रीका लागि उपलब्ध घरको सङ्ख्या सन् २०२२ को सोही महिनाको तुलनामा ८ दशमलव १ प्रतिशतले घटेको थियो भने विद्यमान घरको औसत मूल्य सेप्टेम्बरमा एक वर्ष अघिको भन्दा ३ प्रतिशतले बढ्यो ।

धितो कर्जाको दरमा भइरहेको वृद्धिले कारोबारको आयतन खुम्च्याइरहेको छ । ३० वर्षको स्थिर धितो कर्जाको दर गएको हप्ता ८ प्रतिशतमा उक्लिएको थियो । यो सन् २००० यताकै उच्च हो । २ दशकयताकै उत्कर्षमा पुगेको कर्जाको लागतले घर क्रेता र विक्रेता दुबैलाई घर बजारबाट पाखा लगाइदिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर उच्च नै राख्ने देखिएकोले निकट भविष्यसम्म पनि धितो कर्जाको ब्याजदर उच्चै रहने र यसले घरको विक्री प्रभावित बनाइरहने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप